Logo

अन्तर्राष्ट्रिय

भारतको अयोध्यामा निर्मित राम मन्दिरको गर्भगृहमा राखिएको राम मूर्तिको तस्बिर सार्वजनिक



काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भ गृहमा स्थापित रामललाको मूर्तिको तस्बिर आज सार्वजनिक भएको छ ।

विश्व हिन्दु परिषद्‌वारा सार्वजनिक गरिएको भनिएको तस्बिरमा पाँच वर्षीय बालक रामलाई हातमा स्वर्णिम धनुष र बाण लिएको तथा उभिइरहेको अवस्थामा देख्न सकिन्छ । यसको केही घण्टा अगाडि रामललाको पहिलो तस्बिर भन्दै एक अर्को तस्बिर सार्वजनिक भएको थियो । तर त्यो तस्बिरमा मूर्तिको आँखामा पट्टि बाँधिएको थियो ।

यो मूर्ति ५१ इन्च अर्थात् ४ दशमलव दुई पाँच फुट अग्लो छ ।

मैसुरका प्रसिद्ध मूर्तिकार अरुण योगिराजले यो मूर्ति कुँदेका हुन् । मूर्ति कालो ढुंगाबाट बनाइएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले २२ जनवरी अर्थात् यही माघ ८ गते मूर्तिको प्राणप्रतिष्ठा पूजा गर्नेछन् भने सोही दिन मन्दिरको उद्घाटन हुनेछ ।

हिजो शास्त्रीय विधिविधानअनुसार मन्त्रोच्चार र पूजनविधिका साथ उक्त मूर्ति मन्दिरको भूईंतलामा रहेको गर्भ गृहमा स्थापना गरिएको हो । यो राममन्दिर तीन तलाको बन्दै छ ।

२३ जनवरीदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ । जनवरी २२ मा हुने प्राणप्रतिष्ठा कार्यक्रममा आठ हजारभन्दा बढी विशिष्ट अतिथिलाई निम्त्याइएको र त्यसमा एक सय जति अन्तर्राष्ट्रिय पाहुना हुने बताइएको छ । विशिष्ट पाहुना आउने भएकाले अयोध्या विमानस्थलको नीजी जेट पार्किङस्थलको बुकिङ फुल भएको जनाइएको छ ।

अधिकारीहरूले उद्घाटनको दिन करिब एक सय वटा निजी जेट अयोध्या विमानस्थलमा अवतरण गर्ने अनुमान गरेका छन् । अयोध्या विमानस्थल मात्र नभई नजिकै पर्ने सहरहरू बनारस र गोरखपुर विमानस्थलमा रहेका प्राइभेट जेट पार्किङ्गस्थल पनि बुकिङ भइसकेको रोयटर्सले जनाएको छ ।

यस्तै पसलहरूमा सुन र सुनको जलप लगाइएको भगवान् रामको मूर्ति र मन्दिरको प्रतिमूर्ति अत्यधिक मात्रामा विक्री भएको जनाइएको छ । ती मूर्तिको मूल्य ३० हजार भारुदेखि लिएर दुई लाख २० हजार भारुसम्म रहेको जनाइएको छ ।

राममन्दिर निर्माणसँगै अयोध्याको अर्थतन्त्रमा उछाल आएको र घरजग्गाको मूल्य आकासिएको छ । मन्दिर निर्माणपछि यो स्थान हिन्दुहरूको प्रमुख तीर्थस्थलका रूपमा परिणत हुने र बर्सेनि करोडौँ श्रद्धालु र पर्यटक दर्शनका लागि आउने विश्वास गरिएको छ । मन्दिर उद्घाटन हुने भनेपछि देश विदेशबाट आउने श्रद्धालुको अयोध्यामा भीड बढ्न थालेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ०७:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।