धनगढी । धनगढी उपमहानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले अनिवार्य अवकास पाएपछि उनको विदाइमा हिजो शनिबार औपचारिक कार्यक्रम गरेको थियो । धनगढी उपमहानगरमा पाँच वर्ष एक महिना सेवा गरेर श्रेष्ठको विदाइ कार्यक्रममा मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना र एमालेबाट निर्वाचित जनप्रतिनिधि सहभागी रहेका थिए ।
तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु भने विदाइ कार्यक्रममा सहभागी भएनन् । शनिबार मात्र होइन, उपमहानगरपालिकाले बिहीबारदेखि सुरु गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा समेत कांग्रेस र माओवादीबाट निर्वाचित वडाध्यक्षसहितका जनप्रतिनिधि सहभागि भएका थिएनन् ।
धनगढी उपमहानगरपालिकाले गत मंसिरमा ल्याएको जग्गा प्लटिङ सम्बन्धी कार्यविधिको विरोधमा उत्रिएका जनप्रतिनिधिहरुले छुट्टै बैठक बसेर मेयरले एकलौटी गरेको भन्दै खारेज गर्ने निर्णय गरेका छन । त्यही बेलादेखि मेयर हमाल र जनप्रतिनिधिबीच मनमुटाव चुलीदै गएको छ । यो बीचमा उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधि र मेयरबीच सम्वन्य भएपनि कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिसँग भने वार्ता समेत हुन सकेको छैन् ।
कतिसम्म भने मंसिरपछि उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा उनीहरु सहभागी भएका छन । कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले अहिलेसम्म पाँच वटा औपचारिक कार्यक्रम बहिष्कार गरिसकेको मेयर हमालको निजी सचिवालयले जानकारी दिएको छ । उनीहरुबीचको संवादहीनताले नगर कार्यपालिकाको बैठक र नगरसभा समेत बस्न सकेको छैन । कांग्रेसका नगर संसदीय दलका नेता समेत रहेका ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले भने कार्यक्रम बहिष्कार गरेको नभएर उपमहानगरपालिकाले खबर नै नगर्ने गरेकाले सहभागी हुन नसकेको बताएका छन ।
खड्काले कार्यपालिकाको बैठक कानुन सम्मत तरिकाले चलाउनुपर्ने र सबैसँग छलफल गरेर अघि बढ्नुपर्ने आफूहरुको माग भएको बताएका छन । तर मेयर हमालले छलफल नै गर्न नचाहेको उनले बताएका छन । यस्तै माओवादीबाट निर्वाचित ६ का अध्यक्ष भागीराम चौधरीले समेत कुनै पनि कार्यक्रम बहिष्कार नगरेको बताएका छन ।
उनले कार्यक्रमबारे उपमहानगरपालिकाले खबर नै नगर्ने गरेकाले सहभागी नभएको बताएका छन् । तर मेयर हमालले भने आफूलाई असफल बनाउन कांग्रेस र माओवादीका जनप्रतिनिधिले मोर्चाबन्दी गरेको बताएका छन । हमालले गठबन्धनमा आवद्ध राजनीतिक दलका जनप्रतिनिधिहरुले आफूलाई राजीनामा दिन बाध्य पार्न खोजिरहेको समेत बताएका छन । उनले भने, ‘उहाँहरुसँग बहुमत छ । सुरुवातमा के गर्न सक्ला र, एक्लो छ भन्ने थियो । पछिल्ला दिनहरुमा राम्रो काम भयो ।
उहाँहरुलाई हामीले गरेका राम्रो कामले समस्या भएको छ, ‘सोही कारणले मलाई राजीनामा दिन बाध्य बनाउँदै हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृतसाबको बिदाइ कार्यक्रम मात्र होइन, आसरा सुधार केन्द्रको उदघाटनदेखि उहाँहरुले म सहभागी भएका कार्यक्रम बहिष्कार गर्नु भएको छ ।’ हमालले गठबन्धनमा आवद्ध जनप्रतिनिधिहरुका कारण काम गर्ने वातावरण नभएको बताए ।
१९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट ११ र माओवादी केन्द्रबाट दुई जना वडाध्यक्ष छन् भने एमालेबाट उपमेयरसहित ६ वडाध्यक्ष निर्वाचित भएका थिए । कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । बहुमत कार्यपालिकाका सदस्यहरु नै मेयरले आफूखुसी जग्गा प्लटिङ सम्बन्धी कार्यविधि ल्याएको भन्दै विरोधमा उत्रिएका थिए ।





















प्रतिक्रिया