डा.दामोदर रेग्मी लेखन क्षेत्रमा चीर परिचित नाम हो। विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन्। अर्थशास्त्र, सार्वजनिक वित्त व्यवस्थापन, व्यवस्थापन, राजस्व प्रशासन, सार्वजनिक प्रशासन, प्रशासनका उदीयमान सन्दर्भहरू उनका लेखका मुख्य क्षेत्र हुन्। संघीयता र वित्तीय संघीयताका विविध आयाममा उनका सयौं लेख प्रकाशित भएका छन्। एक हजार भन्दा बढी लेखहरू र दर्जनौ पुस्तकहरूमा एउटा स्थापित लेखकको रूपमा यसको प्रतिविम्व देख्न पाइन्छ। उनका लेख नपढ्ने पाठक कमै छन्ऽ अझ विश्व विद्यालय र विविध प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहनेहरू उनका लेखहरू नछुटाइ पढ्ने गर्दछन्।उनी आफैँ कुशल समय व्यवस्थापक पनि हुन्। यिनै लेखकसँग उनको लेखन यात्रा र परीक्षाको तयारी विशेष गरि लोकसेवा परीक्षाको तयारीको बारेमा ध्यान दिनु पर्ने छलफल गरेका छौं।
लोकसेवा तयारी कसरी गर्ने?
म स्कुल र कलेज जीवनबाट नै लेखहरू लेख्ने गर्थे। मैले बिएमा अर्थशास्त्रमा अध्ययन गर्दै गर्दा अर्थ सम्बन्धी लेखहरू पत्रपत्रिकामा प्रकाशन गर्थे। अहिले प्रशासन, व्यवस्थापन, संघीय प्रशासन, राजश्व प्रशासन, वित्त व्यवस्था, सुशासनलगायत विभिन्न आयाममा लेख्ने गरेको छु। मैले बिए पढ्दा लेख्दै गरेको लेख विश्वविद्यालयको पाठ्यक्रमसँग आधारित छ।अहिलेका लेखहरु पनि यस्तै प्रकृतिको रहेको छ। मेरो लेखमा आउने पाठक र फलोअर्स विश्वविद्यालयका विद्यार्थीहरू अधिकांश हुने गर्नुभएको छ। मैले उहाँहरूको चाहनाको विषय लेखिरहेको छु। तर, लोकसेवा भनेको विश्वविद्यालयको पाठ्यक्रम भन्दा फरक विषय हो। हामीले आइए, विए, एमएमा जे-जे विषय पढ्यौ ती विषय लोकसेवाको कोर्समा राखिएको छ। त्यसैले मेरा लेखहरू लोकसेवाको पाठ्यक्रमसँग मिल्नु पनि स्वाभाविकै हो। विश्व विद्यालयमा विद्यार्थीहरू र प्राध्यापकहरूले पनि मेरा लेखलाई रिफ्रेन्सको रूपमा लिने गरेको मैले पाएको छु। लोकसेवाका परीक्षार्थीहरूले पनि मेरा लेखलाई रुचाइ दिएकाले मैले यसलाई ठूलो सम्पत्तिको रूपमा लिएको छु।
जाँच आउँदा करीव एक/डेढ लाखले नै मेरा लेख पढ्ने गरेको मैले पाएको छु। सामान्य अवस्थामा पनि २५/३० हजारले मेरा लेख पढ्ने गरेको पाइएको छ। मेरै सोसल साइटको संख्या हेर्दा पनि २५/३० हजारले लेखमा पहुँच गरेको पाएको छु। यसरी लेख रुचाइदिनु भएको म पाठकहरूलाई धन्यवाद पनि दिन चाहन्छु। पाठकहरूले मेरो लेखमात्र रुचाइ दिनु भएको छैन, यो विषयमा लेख्नु न भनेर शीर्षक पनि पठाउनु हुन्छ। कहिले यो शीर्षकमा लेख आएन, भन्नु हुन्छ। सकेसम्म उहाँहरूको अपेक्षाका विषयमा पनि लेख्ने गर्छु। कहिलेकाहीँ यो लेखमा यो कुरा छुट्यो, यो कुरा मिलेन कि भनेर सुझाव पनि दिनु हुन्छ। म त्यस्ता सुझावलाई ग्रहण गर्ने गर्छु। त्यसैले मेरा लेखहरू मेरै लागि पनि मार्गदर्शक बन्ने गर्छन्। यसरी सोखको रूपमा मैले लेखनलाई अगाडि बढाइरहेको छु। सम्भवतः केही समय अझैँ लेखककै रूपमा अगाडि बढ्ने छु।
अब लोकसेवाको कुरा गरौं। सार्वजनिक प्रशासनका लागि चाहिने जनशक्ति स्वतन्त्र र प्रतिस्पर्धी माध्यमबाट लिनुपर्छ भन्ने अवधारणा बेलायत र अमेरिकाबाट सुरु भएको हो। त्यहाँ पब्लिक सर्भिस कमिसन भनिन्थ्यो। लोकसेवाले लिने परीक्षा स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धी हुने गर्छ। योग्यता पुगेको व्यक्तिले जाँच दिन पाउने र ती मध्ये बाट पनि योग्य व्यक्ति परीक्षाका माध्यमबाट छनोट भएर सेवामा आउने हुन्। हामीले २००४ सालको संवैधानिक व्यवस्था ट लोकसेवाको शुरुवात गरेका हौं। अहिले लोकसेवा आयोग संवैधानिक निकायका रूपमा रहेको छ। कर्मचारी छनौट गर्ने विश्वासिलो र भरोसायुक्त संस्थाको रुपमा लोकसेवा आयोग र प्रदेश लोक सेवा आयोगहरु रहेका छन्। सुरुमा यसले निजामती प्रशासनका लागिमात्र जनशक्ति छनोट गर्ने काम गर्थ्यो। लोकसेवा आयोगले लिएको परीक्षा स्वतन्त्र, निष्पक्ष र योग्यता पुगेको जो पनि परीक्षामा सहभागी हुन सक्ने हुन्छ। त्यहाँबाट योग्य व्यक्ति छनोट भएर आउनु हुन्छ। लोकसेवामा भनसुन र सोर्स लाग्दैन।
लोकसेवाले प्रश्न सोध्दा धेरै विषयसँग अन्तरसम्बन्धित रहेर प्रश्न सोधिरहेको हुन्छ। त्यसैले हामीले पढ्ने लेखहरू पनि अन्तरसम्बन्ध कायम गरेका लेखहरू पढ्नुपर्छ। केही पाइएन भने आफूले पढेका पहिलो लेख र दोस्रो लेखको अन्तरसम्बन्ध के हो? त्यो हामीले हेर्न सक्नुपर्छ।
अहिले केही वर्ष यता देशका सबै संगठित संस्थाको परीक्षा लोकसेवा आयोगले लिने गरेको छ। हामीले सार्वजनिक निकायमा जागिर खानु पर्ने भए लोकसेवा आयोगको परीक्षा प्रणालीमा अनिवार्य रूपमा समावेश हुनुपर्छ। लोकसेवा आयोगले आफ्नो गरिमा कायम गर्दै योग्य व्यक्तिहरू छनोट गर्दै आएको छ। लोकसेवाको परीक्षा समावेश गरिएका पाठ्यक्रम भनेका करिब करिब हामीले स्कुल र विश्व विद्यालयमा पढेका विषयसँग सम्बन्धित छन्। फरक के भने- त्यहाँ हामीले धेरै विषय पढेका थियौं। यहाँ सेवा समूह हुन्छ। प्रशासन, वन, इन्जिनियरिङ, परराष्ट्र लगायत सेवा हुन्छन्। ती सेवासँग मिल्ने विषयहरू हामीले पढ्नुपर्छ। त्यसैले हामी जुन सेवा समूहको परीक्षा दिँदै छौं, लोकसेवा आयोगले निर्धारण गरेका पाठ्यक्रम हामीसँग हुनुपर्छ। पाठ्यक्रमको मूल विषयहरु हिजो हामीले पढेका पुस्तकहरू रिफ्रेन्सका रूपमा हुन सक्छन्। त्यसैले पहिलो काम भनेको पाठ्यक्रमबारे पूर्ण जानकार हुनुपर्छ। त्यसपछि त्यो पाठ्यक्रमसँग मिल्ने पाठ्य पुस्तक कहाँ छन् भनेर हामीले खोज्नुपर्छ।
अहिले बजारमा दुई/तीन प्रकारका पुस्तक पाइन्छन्। एउटा लोकसेवालाई फोकस गरेर निकालिएका किताब हुन्छन्। सुरुको ज्ञान लिनलाई लोकसेवालाई फोकस गरेर निकालिएका किताब अध्ययन गर्दा पनि हुन्छ। तर, बजारमा किताबको बाढी सँगसँगै आधिकारिक सामग्री नआउने परिपाटी पनि बढिरहेको छ। गलत उत्तर लेखियो भने पास हुने सम्भावना कम भो। विश्व विद्यालयको परीक्षामा उत्तीर्णांक ल्याए पास भइन्छ। लोकसेवा आयोगको परीक्षामा पासमार्क ल्याएरमात्र पुग्दैन, टप हुनुपर्छ। पासमार्क ल्याउने सवैका लागि सिट हुँदैन। प्रतिस्पर्धामा टपमा आउनेमात्र सेवामा प्रवेश गर्ने हुन्। हामीले गलत सामग्री पढ्यौं भने त्यसले सफलता दिदैन। त्यसैले पाठ्यसामग्री किन्दा सन्दर्भ सामग्री छ छैन सो हेर्नुपर्छ। ती सन्दर्भ सामग्री आधिकारिक हुन् कि होइनन् हेर्नुपर्छ। लोकसेवा आयोगको परीक्षा प्रणाली प्रतिस्पर्धी हुने भएकाले प्रश्नलाई थोरै जटिल र अन्तरसम्बन्धित पनि बनाइएको हुन्छ। लोकसेवाले प्रश्न सोध्दा धेरै विषयसँग अन्तरसम्बन्धित रहेर प्रश्न सोधिरहेको हुन्छ। त्यसैले हामीले पढ्ने लेखहरू पनि अन्तरसम्बन्ध कायम गरेका लेखहरू पढ्नुपर्छ। बजारमा अन्तरसम्बन्ध कायम गरिएका लेख कम पाइने गर्दछ। विषयहरुमा अन्तरसम्बन्ध कायम गरिएका विश्लेषणात्मक लेखको अध्ययनले सफलता प्राप्तिमा सहयोग गर्दछ। यसको साथै आफूले पढेका पहिलो लेख र दोस्रो लेखको अन्तरसम्बन्ध के हो? त्यो हामीले हेर्न सक्नुपर्छ विश्लेषण क्षमता बढाउदै जानु पर्दछ।
लोकसेवाको उत्तर दिँदा तीन/चार आयाममा दिन सक्नुपर्छ। प्रश्नमा सोधिएको विषयको अवधारणा कसरी सुरु भयो?, अवधारणाको सैद्धान्तिक पक्ष के हो? किन त्यो सैद्धान्तिक पक्षको आवश्यकता पर्यो? एक दुई प्यारेग्राफ यी कुरा लेख्दा राम्रो हुन्छ। दोस्रो नेपालमा सो अवधारणा कसरी प्रयोग गरिरहेका छौं? यसका ऐन, कानुन, नीति के छन्?, त्यसको संस्थागत व्यवस्था र जनशक्ति व्यवस्था के छ? भन्ने कुरा लेख्नुपर्छ। हामीले अवलम्बन गरिरहेको अवधारणाको प्रयोग कसरी गरिरहेका छौं?, सकारात्मक भइरहेको छ? कमजोर भइरहेको छ?, कमजोर कहाँबाट भइरहेको छ?, सुधार कहाँबाट गर्ने?, सेवाप्रवाह कमजोर भयो भने त्यसमा सुधार गर्नुपर्ने आसावादी पक्ष समेट्नुपर्छ। अर्को समस्यामूलक प्रश्न हुन्छ। त्यस्ता प्रश्नमा समस्या के हो भनेर पहिचान गर्नुपर्छ। समस्या आउनुको कारण के हो?, के-के कारणले समस्या आयो?, त्यो कारणले प्रभाव के छोड्यो? त्यो कारणको निवारणका लागि हामीले लिनुपर्ने कार्यनीति र कार्ययोजना के हो? भन्ने लाइनमा रहेर लेख्नुपर्छ। लोकसेवा आयोगको परीक्षामा पास हुनका लागि प्रश्नको राम्रो बुझाइ हुनुपर्छ। त्यो प्रश्नमा सोधिएका प्रश्नहरूको अन्तरसम्बन्ध र त्यसमा सिफारिस गरिएका व्यवहारपयोगी समाधानहरू सिफारिस गर्नुपर्छ। आकर्षक प्रभावकारी र व्यवहारिक उत्तर दिनु पर्छ। यसले तोकिएको संख्याभित्र आफू पर्न सक्ने संभावना लाइ बढाउंछ।समय व्यवस्थापन, अन्तरसम्बन्धित विषयको कुशलतापूर्वक संयोजन जस्ता विषयहरुमा ध्यान दिनु आवश्यक हुन्छ। प्रश्नको अंकभार अनुसार समय व्यवस्थापन, सवै प्रश्नको भार बमोजिम समानुपातिक उत्तर, प्रश्नले माग गरे अनुरुप सूचनाको प्रस्तुति, विष्लेषणात्मक तवरको प्रस्तुतिले सफल बन्नमा सहयोग गर्दछ। लेखन एउटा कला हो। पढाइ संगसंगै लेखन कलालाइ आकर्षक बनाउदै जान सकिन्छ। यो कलाको सदुपयोगले सफलता हासिल गर्न सकिन्छ।
(डा. रेग्मीसँग गरेको कुराकानीमा आधारित।)
(पूर्वसचिव डा. रेग्मीसँग गरेको कुराकानीमा आधारित।)





















प्रतिक्रिया