Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९औं वार्षिकोत्सव समारोह अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा बुधबार एक समारोहकाबीच सम्पन्न भएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा. महतले गतवर्ष भन्दा यो वर्ष अर्थतन्त्र राम्रो भैसकेको बताउँदै सिमित साधन स्रोतबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्ने दिशामा लाग्नुपर्ने आवश्यकता रहेको बताए । अहिले राष्ट्रिय वाणिज्य बैंक राम्रो अवस्थामा रहेको बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुपर्ने बताए । उनले सरकारले बैंकको सुधारका लागि उदार भएर कार्य गर्ने गरेको समेत बताए ।

महतले बैंकको थापाथली शाखाको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । उनले कार्यक्रममा बैंकको ५९ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०८० विमोचन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट/उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदै गएको बताउँदै अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण योगदान हुने गरेको बताए । नेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताए ।

आज भन्दा ५९ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्‍याउने उद्धेश्यका साथ स्थापना भएको यो बैंकसंग कारोवार गर्ने कुल ग्राहकको संख्या करिब ४१ लाख पुगेको छ भने भौगोलिक उपस्थितिको हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमूकाममा समेत गरी जम्मा २८६ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । डिजिटल बैंकिङ्ग क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ ।

५९ औं वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट ४७७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । साथै काठमाडौं तथा सातै प्रादेशिक कार्यालयहरुले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १५:२४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।