काठमाडौं- नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकमाथि कारबाहीको गर्ने भएको छ। बैंकमाथिको अध्ययन अन्तिम चरणमा पुगेकाले कारबाहीको गर्ने तयारी भइरहेको केन्द्रीय बैंक स्रोतले जनाएको छ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागले एनआईसी एसिया बैंकको वित्तीय अवस्थाबारे अनुसन्धान गरिरहेको छ। विभागले अनुसन्धानको अन्तिम प्रतिवेदन गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेपछि एनआईसी एसिया बैंकमाथि कस्तो कारबाही गर्ने भन्ने निर्णय हुने बताइएको छ।
एनआईसी एसिया बैंकले प्रवाह गरेको कर्जाको स्थिति र बैंकले पेस गरेको वित्तीय विवरणमाथि राष्ट्र बैंकको अध्ययन करिव सकिएको छ।
केन्द्रीय बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ।
एनआईसी एसिया बैंकले राष्ट्र बैंकले तोकेका धेरै प्यारामिटरहरू नाघेको स्थिति रहेको बैंकको भनाइ छ। बैंकले पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब रुपियाँको फर्जी कर्जा देखाएको छ। बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा करिब ४७ प्रतिशत देखाइएको छ।
जबकि, आवासीय कर्जामा अधिकतम २५ प्रतिशत प्रवाह गर्ने व्यवस्था राष्ट्र बैंकको छ। स्रोतका अनुसार एनआईसी एसिया बैंकले करिब ३२ अर्ब कर्जाको जोखिमभार कम देखाएर प्राथमिक पुँजीकोष पुगेको देखाएको छ।
बैंकले असोज र पुसको वित्तीय विवरणमा ऋणको जोखिमभार मिलाउन ‘क्रेडिट रिस्क’ कम देखाउने गरी वासेल प्रतिवेदनमा तोडमोड गरेको पाइएको हो।
बैंकको प्राथमिक पुँजीकोष अनुपात एउटा महिनामा पनि नपुगेमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने भएकाले लाभांशकै लागि वासेल रिपोर्ट तोडमोड गरिएको स्रोतको दाबी छ। यसअघि पनि दुई आर्थिक वर्षसम्म एनआईसी एसियाले लगानीकर्तालाई लाभांश दिन सकेको थिएन।
बैंकिङ सुशासनमा कमजोर मानिए पनि ‘बैंक पनि साथी पनि’ भन्ने नारा बोकेर आक्रामक बजार विस्तारमा एनआईसी एसिया लागेको थियो । बैंकिङ सुशासन, बैकिङ प्रणालीभन्दा पनि साहुकारीताको व्यवहार गर्न थालेपछि ठूला र व्यावसायिक समूहले एनआईसीसँगको कारोबारलाई अन्यत्र सार्दै गएका छन्।
शुरूमा देशभर र ठाउँ ठाउँमा शाखा खोलेर आफ्नो उपस्थिति बलियो देखाए पनि बैंकिङ सुशासन कमजोर हुँदा सञ्चालन खर्च उच्च भएकाले भएका शाखा र कर्मचारीको भार थेग्न बैंकलाई हम्मे हम्मे परेको बताइएको छ।
शाखा संख्याअनुसार व्यापार नभएपछि करिब ५० वटा शाखा र एक्सटेन्सन काउन्टर बन्द गर्ने तयारीमा बैंक लागेको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ। बन्द हुने शाखामा केही काठमाडौं उपत्यकाभित्रका र केही ग्रामीण क्षेत्रका रहेका छन्।
केन्द्रीय बैंकले स्वीकृति दिएसँगै एनआईसी एसियाका देशभरका चार दर्जन काउन्टर एकैपटक बन्द हुनेछन्। हाल ७७ वटै जिल्लामा बैंकले ३ सय ६० वटा शाखा १ सय १० वटा एक्सटेन्सन काउन्टर, ६१ वटा शाखारहित काउन्टर र ६ सय ४५ वटा एटीएम रहेका छन्।
यसैबीच बैंकमा देखिएको किचलो र बैंकिङ सुशासन नहुँदा बैंकमा लामो समयदेखि कार्यरत रहेका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेले पदबाट राजीनामा दिनुभएको छ। यद्यपि, पाण्डेको राजीनामा सञ्चालक समितिले अझै स्वीकृत नगरेको स्रोतको भनाइ छ।
यस विषयमा नेपाल समाचारपत्रले बैंकका सीईओ रोशन न्यौपाने र बैंकका सूचना अधिकारी अर्जुन खनियाँसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि सफल भएन।
एनआईसी एसिया बैंक प्रकरण सार्वजनिक भएपछि बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ भने पछिल्लो दुई दिनमा सेयर मूल्यमा पनि दोहोर अंकले गिरावट आएको छ। – नेपाल समाचार पत्रबाट




















प्रतिक्रिया