Logo

टिप्पणी

एमाले देखाउँदै कांग्रेस तर्साउदै प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनी नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कडा रूपमा उभिँदै आएको छ। एमालेका सांसदहरूले संसद् बैठकमा सबैभन्दा बढी आलोचना प्रधानमन्त्री दाहालकै गरेका छन्। प्रधानमन्त्री संसद् छलेर हिँडेको आरोपसमेत उनीहरूले लगाएका छन्।

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालका विषयमा कडा टिप्पणी गरे । पार्टी केन्द्रीय कमिटीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै ओलीले कुनै व्यक्ति, कुनै पार्टीका विषयमा सरकार नै निर्लज्ज हुने काम भएको बताएका थिए । ‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ?

मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’ ओलीले भनेका थिए । सोही पत्रकार सम्मेलनमै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई लक्ष्य गरेर भनेका थिए, ‘सरकारले नैतिकता नै छाडिदिने ? भ्रष्टाचारको अभियोग लागेकाहरू झन्डा हालेर हिँडिरहेका छन् ।’ आइतबार पनि ओलीले विवादित मन्त्रीको राजीनामा आउनुपर्ने जिकिर गरे । तर प्रधानमन्त्री दाहालबारे भने उनले खासै टिप्पणी गरेनन् ।

प्रधानमन्त्री दाहाल पनि एमालेलाई खासै चिढ्याउने पक्षमा देखिन्नन् । एमालेले मध्यपहाडी यात्रामार्फत देखेका समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने क्रममा दाहालले त्यसमा लेखिएका विषयलाई सम्बोधन गर्न आफू तयार रहेको मात्र बताएनन्, सार्वजनिक रूपमै मध्यपहाडका समस्या साझा भएको अभिव्यक्तिसमेत दिए । यसले पछिल्लो चरणमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल एमालेप्रति नरम रूपमा प्रस्तुत हुँदै आएको देखाउँछ ।

महासमिति बैठकको आसपासमा कांग्रेसभित्र २०८४ सालमा हुने निर्वाचन लक्षित बहस चलिरहेको थियो । त्यसक्रममा माओवादीका नेताहरूले पनि आफूहरू एक्लै चुनाव लड्न सक्ने हैसियतमा रहेको प्रतिक्रिया सार्वजनिक गरे ।

उता कांग्रेसमा गठबन्धन गर्ने कि नगर्ने बहस चलिरहेका बेला अहिलेको गठबन्धनमा कुनै पनि असर नपर्ने आश्वासनसमेत प्रधानमन्त्रीले पाइरहे । तर त्यसबीचमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग औपचारिक रूपमै निरन्तर भेटघाट गरे ।

उनले कहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित त कहिले ओलीसँग मात्रै भेटघाट गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १०:०४   :  बजे

426
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।