धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छिन् ।
पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरि शुक्रबार मध्यराती सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोडन निर्देशन दिएकी हुन् ।
शनिबार बिहान अध्यक्ष चौधरीले भनिन, ‘कमल बहादुर शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिई सकेकी छु । आज संसदीय दलको बैठक बस्छ र सरकारबाट फिर्ता हुने निर्णय हुन्छ ।’
नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य मध्ये शुक्रबारको सरकार विस्तार पछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन् । शुक्रबार मध्य राती मुख्यमन्त्री कमल बहादुर शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, रञ्जीताको नजिक मानिएका खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उन्मुुक्तिका रामेश्वर चौधरी सहित अहिले ४ जना सरकारमा गएका छन् ।
उनले आफ्नो पार्टी नयाँ गठबन्धनमै रहेको बताईन । ‘हामी नयाँ बनेको गठबन्धनमै छौं । विहीबारको सदनमा पनि हामी सत्ता पक्षमा बसेका छौं, यो भनेको सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई समर्थन गर्नु हो’ उनले भनिन् ।
सल्लाह नै नगरेर सरकारमा गएका संसदीय दलका नेता घनश्याम चौधरीले सरकारबाट फिर्ता नभएपछि के हुन्छ ? भन्ने ई विगुलको जिज्ञासामा पार्टी अध्यक्ष रञ्जीताले भनिन, ‘नागरिक उन्मुक्ति पार्टी विधि विधानबाट चलेको पार्टी हो । दलको ह्विप नमान्नेलाई के हुन्छ, त्यो पछि हुदै गर्छ ।’
अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जीता बीच सरकारमा जाने वा नजाने बारे विवाद देखिएको छ ।





















प्रतिक्रिया