च्याटमा अश्लिल गाली गर्ने प्रदेश सांसद होमकुमारी साँवा पार्टीबाट निलम्बित भएकी छिन् । ताप्लेजुङका एक युवतीलाई सामाजिक संजाल मार्फत अपशब्द प्रयोग गर्दै गाली गरेको निश्कर्ष निकाल्दै प्रदेश संसद होमकुमारी साँवालाई पार्टीले ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
म्यासेन्जर र भाईबरमा गरिएका च्याटमा उल्लेख भएका शब्दहरु सार्वजनिक निकायमा बस्ने व्यक्तिबाट हुने भन्दा अस्वभाविक पाइएकोले साँवालाई ३ महिना निलम्बन गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले जानकारी दिए । च्याट बाहिरिएपछि छानबिन गर्न नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो ।
सोही घटना सँग जोडिएका नेकपा ताप्लेजुङ जिल्ला कमिटि सदस्य एवम् प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडाले आत्मा आलोचना गरेकाले उनिहरुमाथि भने कुनै कारवाही नगरिएको नेकपा ताप्लेजुङले जनाएको छ । घटनाको छानबिन गर्ने कार्यदलमा जिल्ला इञ्चार्ज काफ्लेको संयोजकत्वमा प्रदेश कमिटि सदस्य मिङ्माडण्डु शेर्पा र प्रदेश सल्लाहकार परिषद् सदस्य रामप्रसाद सुबेदी सदस्य रहेका थिए ।
प्रतिक्रिया