Logo

समाचार

जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा



काठमाडौं । काठमाडौँ महानगरपालिकाले निजामती कर्मचारी अस्पतालसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

उक्त कार्यका लागि कामपा र निजामती अस्पतालबीच सहमति भइसकेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए । उनकाअनुसार सार्वजनिक साझेदारीको अवधारणाअनुरूप आपसी समन्वय र सहकार्यका माध्यमबाट महानगरवासीलाई नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी हक उपलब्ध गराउन आपसी क्षमता आदानप्रदान गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसबाट नागरिकले स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा सहज रुपमा पाउने उनको भनाइ छ ।

समझदारीबमोजिम महानगरले सिफारिस गरेका ७५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, जनप्रतिनिधि कर्मचारीको पूर्ण स्वास्थ्य जाँचसहितका काममा सहकार्य हुने भएको परियारले जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिकका लागि अस्पतालमा छुट्टै परीक्षण कक्ष स्थापना गरेर इसिजी, ब्लड सुगर, सिबिसी, एक्स–रेसहित १० किसिमका स्वास्थ्य परीक्षण हुनेछन् ।

महिलाहरूमा देखा पर्नसक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि महानगरले प्रजनन उमेरका महिलाका लागि सञ्चालन गर्ने शिविरबाट पठाइएकाको एचपिभी डिएनए परीक्षण, बायोप्सी, लिप परीक्षण (लुप इलेक्ट्रो सर्जिकल एक्सिसन प्रोसिड्युर) र मेमोग्राम परीक्षण हुनेछन् ।

यस्तै, परिचयपत्र वा सिफारिसका आधारमा कर्मचारी र जनप्रतिनिधिका लागि युएसजी, इसिजी, युरिन, ब्लड सुगर, लिपिड प्रोफाइलसहित विभिन्न १६ किसिमका परीक्षण हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिए । उनका अनुसार माथि उल्लिखित सेवा प्राप्त गर्नका लागि तोकिएबमोजिम बिरामीलाई कामपाले सिफारीस गर्नुपर्नेछ ।

सिफारिसपत्रका आधारमा निजामती अस्पतालले सेवा सहमतिअनुसारको सेवा उपलब्ध गराउनेछ । उपचारमा लागेको खर्च कामपाले उपलब्ध गराउने जनाइएको छ ।

महानगरपालिकाका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट पठाइएका बिरामीको छुट्टै कक्षबाट उपचार गरिनेछ । उक्त केन्द्रबाट गरिएका जाँच तथा स्वास्थ्य परीक्षण प्रतिवेदनलाई अस्पतालले मान्यता दिनेछ ।

अस्पतालले महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगको न्यूनीकरण, रोकथाम र उपचार, स्वास्थ्य बीमा सञ्चालनमा सहजीकरण, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन र भौतिक संरचना निर्माण तथा मर्मतसम्भारको विषयमा पनि कामपासँग सहकार्य गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : चैत्र २८, २०८० बुधबार  २ : ३६ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।