Logo

कर्पोरेट फोकस

बाँसबारी जग्गा प्रकरण: विनोद चौधरीलाई बयानका लागि अख्तियार बाेलाउने तयारी



काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ ।

अख्तियारले विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको छ ।

२०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा चौधरी समूहले आफ्नो नाममा ल्याएको थियो ।

चौधरी समूहले २०४२ सालमा खुलेको च्याम्पियन फुटवेयरले बाँसबारीको जग्गा आफ्नो नाममा सारेको थियो । च्याम्पियनले आफ्नो नाममा सारेको उक्त जग्गा चौधरी समूहकै चाँदवाग रेसिडेन्सीको नाममा छ ।

जग्गा अनियमितता प्रकरण सतहमा आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेका थिए ।
सीआईबीले केही महिना अघि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेर अदालतको आदेशबाट केही दिनमा छाडेको थियो ।

अनुसन्धानका क्रममा सीआईबीले गत चैत ८ गते व्यवसायी एवं कांग्रेस सांसद विनोद चौधरीलाई सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो । लगत्तै उनी विदेश गएका थिए ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितताबारे अहिले पनि सीआईबी र अख्तियारले अनुसन्धान गरिरहेका छन् ।

जग्गा च्याम्पियनको नाममा दर्ता हुँदा लुनकरण दास चौधरीले पत्नी गंगादेवी, छोराहरू विनोद कुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र ज्वाइँ महेशकुमार अग्रवालका नाममा कम्पनी स्थापना गरेका थिए । त्यही कम्पनीले बाँसबारीको जग्गा आफ्नो नाममा ल्याएको थियो ।

प्रकाशित मिति : बैशाख २, २०८१ आईतबार  ११ : १७ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।