Logo

प्रमुख समाचार

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल



राैतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने देशमा फेरि अर्को उथलपुथल हुने चेतावनी दिएका छन् ।

आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमानदेखि कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् ।

गृह जिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टिस्थित लालबकैया नदीमा नवनिर्मित मधेश प्रदेशकै सबभन्दा दोश्रो लामो झोलुङ्गे पुलको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष माधव नेपालले यस्तो बताएका हुन् । झोलुङ्गे पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरुको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्याता र महत्व रहेकोले आपूलाई हलुका नलिन सुझाव दिए ।

वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘हामी कसैको दास होइनौं र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौं, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्यो भने उसलाई ठूलो मूल्य चुकाउनुपर्छ ।’ नेता नेपालले अघि थपे, ‘हाम्रो आफनै स्वाभिमान र महत्व छ, त्यसैले यो कुरा बुझयो भने ठिक छ नत्र सबै उलटिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

नेकपा एसले सात प्रदेशमध्ये एउटा सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको बताउँदै उनले भने, ‘त्यहाँ आफ्ना पार्टीका चारजना प्रदेश सांसद छन र ती चारै जना सरकार निर्माणका लागि निर्णायक छन, हाम्रा प्रदेश सांसदहरु जता जान्छन उतै सरकार बन्छ, अनि सरकार छाडयो भने ढल्छ, ।’ रौतहटमा विगतमा आफूले शिलान्यास गरेका सबै योजनाहरुको काम चाडै द्रूत गतिमा अगाडि बढ्ने नेता नेपालले विश्वास दिलाएका छन् ।

आफू प्रधानमन्त्री भएको बेला रौतहटमा ठूलठूला विकास निर्माणका कामहरु गरेको चर्चा गर्दै नेता नेपालले आफूले शिलान्यास गरी अधुरो रहेका बडहर्वा पुल, टिकुलियाघाटको पुलदेखि लिएर अलपत्र अवस्थामा रहेको सबै योजनाका कामहरु चाँडै अगाडि बढाउने प्रक्रियामा लागि परेको बताए । ४२ किलोमिटरको गौर–चन्द्रनिगाहपुर सडक खण्डलाई ४ लेनको बनाउने योजना आफूले नै ल्याएको र अहिले उक्त सडकलाई ४ लेन बनाउने काम द्रूत गतिमा अगाडि बढेको उनले बताए ।

चपुर–गौर सडकलाई चारलेन बनाउन ३ अर्बको ठेक्का लागिसकेको बताउँदै नेता नेपालले अबको केहि वर्ष भित्र मै चपुर–गौर सडक ४ लेनको बाटो हुने बताए । त्यस्तै हुलाकी राजमार्गसँग जोडिएको बडहर्वाघाटको बागमति नदिको पुल निर्माण गर्न अति आवश्यक रहेकोले अलपत्र अवस्थामा रहेको सो पुल चाडै निर्माण गर्नका लागि आफु कुनै कसर बाँकी नराखेको उनले बताए ।

गौर नगरपालिकाका मेयर शम्भु साहको अथक प्रयास र सहयोगमा वडा नं २ महादेवपट्टि स्थित लालबकैया नदिमा करोडौंको लागतमा निर्माण भएको झोलुङ्गे पुलको शुक्रवार नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका हुन । नेता नेपालले उद्घाटन गरेसंगै मधेश प्रदेशकै सबभन्दा दोश्रो ठूलो पुलको रुपमा रहेको उक्त झोलुङ्गे पुल शुक्रवारदेखी औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

सो पुलबाट गौर, इशनाथ लगायत पालिकाका हजारौ व्यक्तिहरु लाभान्वित हुने भएका छन् ।  उद्घाटन कार्यक्रममा नेकपा एसका नेता एवं पूर्व मन्त्री डाक्टर वंशीधर मिश्रा, विकास समितिका सभापति कल्याणी खड्का, नेता रेवन्त झा, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, गौर नगर प्रमुख शम्भु साह लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बैशाख ८, २०८१ शनिबार  १२ : ३५ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।