Logo

प्रमुख समाचार

इलाम-२ मा रास्वपासहित १६ जना उम्मेदवारको धरौटी जफत



काठमाडौँ । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।

इलाम-२ मा एमालेका सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२ मतसहित विजयी भए । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याए । तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५७ मत ल्याए । यी तीनबाहेक सबै उम्मेदवारको धरौटी जफत भएको हो ।

आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र प्राप्त गरे । त्यस्तै मंगोल नेसनलका मनिबहादुर लिम्बूले ८ सय १६ मत ल्याए । त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राईले ४ सय ८ मत ल्याउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ सय ४ मत प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ अनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुनेछ ।

प्रकाशित मिति : बैशाख १८, २०८१ मंगलबार  ६ : ५८ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।