Logo

प्रमुख समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै : कांग्रेसले अवराेध गर्ने, एमालेले नदिने



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए ।

सोही सूचनाको आधारमा शुक्रबार प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । शुक्रबार बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ । ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए ।

‘मुख्यमन्त्रीले विश्वासको मत लिने सम्पूर्ण तयारी गर्नुभएको छ’, उनले भने, ‘बिहान कार्य व्यवस्था परामर्शको बैठक बस्छ । पाँच बजे विश्वासको मत लिनुहुन्छ र पाउनुहुन्छ ।’ दिउँसो नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने समेत तयारी भएको बताए ।

यता माओवादी केन्द्रले पनि ११ बजे संसदीय दलको बैठक राखेर मुख्यमन्त्री सोडारीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने तयारी भएको माओवादी संसदीय दलका नेता मानबहादुर धामीले बताए । ‘हामी विश्वासको मत दिने तयारीमा छौँ ११ बजे संसदीय दलको बैठक बसेर विश्वासको मत दिने गरि ह्विप जारी गर्छौ’ उनले भने ‘सत्ता गठबन्धनमा विश्वासको मत दिने समझदारी भएको छ ।’

केन्द्रमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने छलफल भएको समेत उनले जिकिर गरे । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दाहाल र ओलीबिच छलफल भएको हो । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइन्छ ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बझाङ प्रदेशसभा सदस्यका लागि वैशाख १५ मा भएको उपनिर्वाचनमा एकीकृत समाजवादीले सहमति विपरीत एमाले उम्मेदवार हराउन लागि परेकाले सुदूरपश्चिम सरकारबारे सोच्नुपर्ने अवस्था आएको बताए ।

सञ्चारकर्मीको जवाफ दिँदै अध्यक्ष ओलीले संसद्को बजेट अधिवेशन बोलाउने मामिला संसद् र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरेका थिए । सुदूरपश्चिम प्रदेशमा विश्वासको मत दिने वा नदिने भन्ने विषयमा ओलीले केही बताएनन् । एमाले नेताहरू पनि शुक्रवार विश्वासको मत दिने गरि केन्द्रबाट त्यस्तो कुनै निर्णय नआएको बताउँछन् ।

‘हामीले विश्वासको मत नदिने भनेका छैनौँ’ एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले भनिन्, ‘हामी छलफल गर्छौ । विश्वासको मत नदिने भन्ने होइन तर, २१ गते नै दिने सम्भावना भने छैन । एमाले शीर्ष नेताहरूले सुदूरपश्चिम प्रदेशमा सोडारी सरकारलाई विश्वासको मत दिन कुनै निर्देशन जारी गरेका छैनन् । एमाले संसदीय दलका नेता तथा सदस्यहरू पनि २१ गते पछि मात्र विश्वासको मतका बिषयमा निर्णय हुने बताउँछन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ०८:२०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।