Logo

गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने



काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते विश्वासको मत लिने भएका छन् ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका हुन् ।

अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले एक दिन अघि नै विश्वासको मत लिन लागेका हुन् । अधिकारी नेकपा एमाले २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’समेत गरी ३१ जना सांसदको दाबी पेश गरेर मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १४:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।