काठमाडाैं । मानिसको महत्वपूर्ण अङ्गमध्ये कान पनि एक हो । कानको मुख्य काम भनेको आवाजलाई श्रवण गर्नु हो । साथै कानले हाम्रो शारीरिक सोभा पनि बढाउँछ ।
सोचौँ त, कान सुनिरहेका हामीले एकछिनको लागि कतैबाट कुनै पनि ध्वनि र अवाज सुनेनौं भने हामीलाई कस्तो महसुस हुन्छ होला ! अथवा हाम्रो शरीरको कुनै पनि अङ्गमा कुनै पनि खालको अप्ठ्यारो महसुुस भएमा हामी के गर्छौ होला ? पक्कै पनि हामी त्यसको उपचार गर्छौँ नै । त्यसैले कानमा हुनसक्ने समस्या र समस्या हुन नदिन के गर्ने त भन्ने बारे आज हामी जान्नेछौँ ।
जुनसुकै उमेर समुहका मानिसमा पनि कानको संक्रमण हुन सक्छ । कानका भित्री संरचनाहरू जटिल भएपनि चिकित्सकिय भाषामा कानको संरचना अनुसार कानलाई तीन भागमा विभाजन गरिएको छ- बाह्य कान, मध्य कान र भित्री कान । कानको सङ्क्रमण जस्तो र जता पनि हुन सक्छ । संक्रमण विषेशगरी ब्याक्टेरिया र भाइरसहरूका कारणले हुनेगर्छ ।
किन दुख्छ त कान ?
बाहिरी कान र मध्य कानमा सङ्क्रमण भएमा कान दुख्ने, कान दुम्म हुने, कान सुन्न बन्द हुने, कानबाट पानी र पिप आउने समस्यमाहरू हुन्छन् । भित्री कानले चाहिँ हाम्रो ब्यालेन्स सिस्टमलाई सन्तुलनमा राख्ने काम गर्छ । त्यो खलबलिएको खण्डमा हामीलाई रिङ्गटा लाग्ने हुन्छ । जुन रिङ्गटा लाग्ने कारणहरूमध्ये प्रमुख कारण हो ।
के कारण र कस्ता मानिसलाई कानमा हुने संक्रमणकाे जोखिम बढी हुन्छ त ?
ब्याक्टेरिया र भाइरल संक्रमणसँगै वाय-प्रदुषण र उचाइमा हुने प्रेसर परिवर्तनले पनि कानमा संक्रमणको जोखिम बढाउन सक्छ । हिमाल चढ्ने व्यक्ति, पाइलट, स्विम्मर र नाकको एलर्जी हुनेहरू बढी जोखिममा हुन्छन् । साथै कहिलेकाहीँ कानको श्रवण शक्ति कम हुनुमा पारिवारिक इतिहास पनि लुकेको हुन्छ ।
बालबालिकाहरू, विशेषगरी ६ महिना र दुई बर्षका बीचमा, तिनीहरूको विकासशील प्रतिरक्षा प्रणाली र शरीर रचनाको कारणले गर्दा कानमा संक्रमण हुने सम्भावना बढी हुन्छ ।
बच्चाको कानमा संक्रमण बढी किन देखिन्छ ?
बच्चामा कानमा संक्रमण बढी हुने गरेको हुन्छ । संक्रमण हुने माध्यम भनेको हाम्रो कान र नाक जोड्ने पाइप हो । नाकको पछाडी र घाँटीको माथिल्लो भागमा हाम्रो कानसँग जोडिने ट्युब हुन्छ जसलाई स्टेसियन ट्युब भनिन्छ । त्यो ट्युबबाट नाक र घाँटीमा संक्रमण भयो भने ट्युबको माध्यमबाट बिचको कानमा संक्रमण हुन जान्छ ।
बच्चाहरूको यो ट्युब एकदमै सिधा हुन्छ । जती बच्चाको उमेर बढ्दै गयाे, त्यति ट्युब बाङ्गिदै जान्छ । बच्चाको त्यो ट्युब सिधा हुने भएकोले लामो समय बच्चालाई रुघा लाग्यो भने त्यही ट्युबको माध्यमबाट मध्य कानमा संक्रमण हुने हुन्छ । जसलाई अक्युट ओटाईटिस मिडिया भन्ने गरिन्छ । त्यो इन्फेक्सन भयो भने बच्चाको कान दुखेर ज्वरो आउने, रुघा अत्याधिक लाग्ने र पिपजस्तो निस्कने हुन्छ । सँगसँगै बच्चाहरूले जथाभावी कुराहरू कानमा लागेर बाटोमा र कहिलेकाहीँ जालीमै घाउ बनाउँछन्, जसकारण कानबाट रगत पनि आउन सक्छ ।
कानको संक्रमणबाट बच्न के गर्ने ?
बाह्य कानको संक्रमणबाट बच्न जथाभावी कान नकोट्याउने, कानेगुजी निकाल्न हामीले विभिन्न तिखो उपकरणको प्रयोग गरिरहेका हुन्छौ जसले कानमा घाउ बनाइदिने र त्यही घाउ ठूलो भएर पिप जम्ने र कान दुख्ने समस्या गराउँछ । त्यसैले कान कोटाइराख्नु उपयुक्त हुँदैन । प्राय: आजभोली कानेगुजी निकाल्न धेरैले एयर-बडको प्रयोग पनि गर्ने गर्छन् । नियमित कान सफा गर्न त्यसको प्रयोगलाई पनि राम्रो मानिँदैन । त्यसैले यसको प्रयोग पनि कम गर्नुपर्छ।
त्यसैगरी मध्य कानको संक्रमणबाट बच्नको लागि रुघाखोकी लाग्यो भने समयमा नै त्यसको उपचार गर्नुपर्छ नत्र कानको संक्रमणको जोखिम बढाउँछ । कहीलेकाहीँ कानको जालीमा प्वाल हुनसक्ने रोगहरू हुन्छन् । कानको जालीमा प्वाल छ भने थोरै रुघा लाग्ने बित्तिकै त्यो जालीबाट पिप कान बाहिर आउने सम्भावना रहन्छ । त्यस्तो इन्फेक्सन हुने कानमा पानी अथवा तेल पर्न दिनुहुदैन । त्यसबाट बच्न नुहाउँदा कानमा कपास राखेर अथवा कानमा पानी पर्न नदिइ नुहाउनुपर्छ । पौडी खेल्दा पनि इयर-प्लगको प्रयोग गर्नुपर्छ ।
कस्तो अवस्थामा अस्पताल जाने त ?
कान सुन्निएमा, कानबाट पिप आएमा, कानबाट रगत आएमा र कान सुन्न कम भएमा उपचारका लागि अस्पताल गइहाल्नु पर्छ । कानको संक्रमण कानमा मात्रै नभई कानको वरपरको भागमा पनि सर्ने गर्छ । जस्तै, कानको हड्डी खाने रोग पनि हुन्छ । त्यसैकाे इन्फेक्सन मस्तिष्कमा सर्न सक्ने जोखिम हुन्छ । किन भने हाम्रो कान र मस्तिष्कलाई सानो हड्डिले मात्र छुट्याएको हुन्छ ।
कहिलेकाहीँ खिइएर पनि मस्तिष्कमा संक्रमण हुनसक्ने हुन्छ । त्यसैले कानमा समस्या आयो भने अस्पताल समयमै जानुपर्छ ।
यदि तपाईंलाई कानमा संक्रमण भएको शंका छ भने सही निदान र उपचार योजनाको लागि स्वास्थ्यकर्मीलाई भेट्नु महत्त्वपूर्ण छ ।
– नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डा. चेतना पाठकसँग गरिएकाे कुराकानीमा आधारित




















प्रतिक्रिया