काठमाडौँ । उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार्टी अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री अमेरिका भ्रमणमा छन् भने दलको प्रतिनिधित्व गर्ने दुई मन्त्रीसहितका ७ सांसद नयाँ दलमा लागेका छन् । अब पार्टी अध्यक्षको समूहमा उनीसहित ५ सांसद छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो । गत २१ फागुनमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन बनाएको भनेर सार्वजनिक घोषणा गरेका जसपा अध्यक्ष यादवले उक्त निर्णय पार्टीबाट अनुमोदन गराउन निकै धेरै मिहिनेत गर्नुपरेको थियो । लामो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका छन् । तर, मन्त्री सुडीले समेत यादवको नेतृत्व छाडेका छन् ।
अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव स्वदेश आउँदा नआउँदै पदमुक्त हुने सम्भावना छ । उनको सट्टा नयाँ दलका सांसदलाई मन्त्री बनाउने गठबन्धन नेतृत्वको तयारी छ । नयाँ दलको नेतृत्व सांसदसमेत रहेका अशोक राईले गरेका छन् ।
माओवादीसँगको सहकार्य अप्रत्याशित रूपमा टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा वैकल्पिक गठबन्धनको तयारीमा छन् । यसमा उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मात्र होइन, जसपा अध्यक्ष यादवको साथ रहेको भन्दै त्यसलाई निरस्त बनाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रयासरत थिए । ‘खासगरी माधव नेपाल र उपेन्द्र यादवको भूमिकाले गठबन्धनभित्र संशय पैदा गरेको थियो, दुवै दल सरकारमा भए पनि निरन्तर कांग्रेस सभापतिसँग संवादमा छन् भन्ने दाहाल र ओलीको बुझाइ थियो,’ एमालेका एक नेताले कान्तिपुरसँग भने, ‘उनीहरू यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने तयारीमा लागेपछि वर्तमान सत्ता गठबन्धनले नयाँ रणनीति बनाएको हो ।’
सत्तारूढ दलका एक नेताका अनुसार देउवा, नेपाल र यादवबीच पटकपटक भएका संवादपछि उनीहरूबीच बाँकी कार्यकाल बाँडेर तीनै जना आलोपालो प्रधानमन्त्री बन्ने समझदारी बनेको थियो । त्यही समझदारीले आकार लिने सम्भावना देखेपछि नेता नेपालले आफू प्रधानमन्त्री बन्ने संकेतले ‘कतिपयको पेट दुखेको’ टिप्पणीसमेत गरेका थिए । त्यसैले दाहाल र ओली मिलेर अहिले यादवलाई कमजोर बनाइदिएको र यो नजिरले माधव नेपाललाई पनि अप्ठ्यारो पर्ने सक्ने उनको भनाइ छ ।
‘उपेन्द्र यादव आफैं प्रधानमन्त्री बन्ने गरी वर्तमान गठबन्धन भत्काउन लाग्नुभएको थियो, त्यसैले दाहाल र ओलीले जसपा नै विभाजन गराइदिएका छन् । अब तत्काल वैकल्पिक सरकारको सम्भावना टरेको छ । बरु विभाजनको संक्रमण नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सर्न सक्छ ।’ मन्त्री साहले पनि पार्टी नेतृत्व नै गठबन्धन ढाल्ने प्रयासमा लागेपछि आफूहरूले नयाँ पार्टी गठन गरेको दाबी गरे । ‘यो पार्टीभित्रको आन्तरिक विषय हो । जुन सरकारमा बस्यो, त्यही सरकार ढाल्ने प्रयास भयो । त्यसैले हामीले यो कदम उठायौं । हाम्रो कदमले सत्ता समीकरणमा कुनै प्रभाव पर्दैन, बरु यो समीकरण र सरकारलाई झन् बलियो बनाउँछौं,’ उनले भने । जसपा विभाजनमा भूराजनीतिक प्रभावभन्दा पनि दलको आन्तरिक विवाद नै मुख्य कारण भएको नेताहरूको दाबी छ ।
विभाजित जसपाका सांसद प्रदीप यादवले एकलौटी गर्ने पार्टी अध्यक्षको कार्यशैलीमा परिवर्तन नभएपछि पार्टी विभाजनमा जानुपरेको बताए । उनले पार्टी र संसदीय दलमा अध्यक्षले सहकर्मीलाई बँधुवा मजदुरजस्तै बनाएकाले विद्रोह गरेको बताए । ‘कोहीसँग सल्लाह पनि नगर्ने, जे भन्यो त्यही हजुर भनिदिनुपर्ने । हामी त बँधुवा मजदुरजस्तो,’ उनले भने, ‘आउँदै गरेको महाधिवेशनमा अध्यक्षले आफू नजिककालाई मात्रै जिम्मेवारी दिने तयारी गर्नुभएको थियो । आफ्नो पक्षमा सामाजिक सञ्जालमा लेख्नेलाई मात्रै सदस्य बनाउने र फरक मत राख्नेलाई सदस्यता नदिने गरी समाप्त गर्न खोज्नुभएको थियो । त्यसैले हामीले नयाँ बाटो लियौं ।’




















प्रतिक्रिया