Logo

समाचार

बच्चालाई ६ महिना पुगेपछि के-के खुवाउन मिल्छ त ?



काठमाडाैं । बालबालिका ६ महिना पूरा भएपछि चाहिने सबै पोषक तत्वहरू आमाको दूधबाट मात्र नपुग्ने भएकाले आमाको दूधको साथै थप खाना खुवाउनु पर्छ ।

कतिपय आमाहरूलाई ६ महिना मुनिको बच्चालाई पानी खुवाउने कि भनेर पनि जिज्ञासा हुन सक्छ । तर आमाको दूधमा नै ८० प्रतिशत पानी हुन्छ । त्यसकारण आमाको दूध मात्रै खुवाउँदा नै पुग्छ । तर बच्चा ६ महिना पुगेपछि भने खाना र पानी दुवै खुवाउनु पर्छ ।

पहिलो पटक बच्चालाई खाना कसरी खुवाउने ?

पहिलो पटक खाना खुवाउँदा लिटो बनाएर खुवायो भने राम्रो हुन्छ, जसमा आमाको दूध पनि मिलाएर खुवाउन सकिन्छ । त्यसरी तयार गरिएको लिटोमा अरु कुनै पनि खाना मिलाउनु हुँदैन । यसरी बिस्तारै अरु खानाहरू पकाएर खुवाउने सुरुवाती दिनहरूमा बच्चालाई एक प्रकारको खाना तीन देखि पाँच दिनसम्म एकै प्रकारको खाना दिनुपर्छ ताकी बच्चालाई त्यो खानासँग परिचित हुन सजिलो हुन्छ ।

साथै एकै प्रकारको खाना बच्चालाई खुवाउँदा त्यो खानाको एलर्जी बच्चालाई हुन्छ कि हुँदैन भनि थाहा पाउन सकिन्छ ।
बच्चा खाना खान परिपक्व छ कि छैन भनी थाहा पाउन बच्चाको शारीरिक विकास हेर्नुपर्ने हुन्छ । जसमा बच्चा बिना अडेस लगाई बस्न सक्छ भने, बच्चाको मुखभित्र केही खाने कुरा राख्न खोज्दा बच्चा मुख खोल्छ भने बच्चाले केही खाने कुराहरू अथवा खेलौनाहरू समातेर मुखमा राखिरहन्छ भने र बच्चाले आफू नजिकै राखेका खानेकुराहरू समात्न खोज्छ भने तपाईको बच्चा खाना खाना तयार छ भन्ने बुझनुपर्छ ।

६ महिना पुगिसकेका बच्चालाई कति मात्रामा खाना खुवाउने ?

सुरूमा एकदेखि दुई चम्चा लिटो आमाको दूधसँग मिलाएर खुवाउने बिस्तारै त्यसको मात्रा दुई देखि बढाउँदै लैजानुपर्छ ।
सुरुमा खाना दिँदा दिनमा एकपटक खाना दिने र बिस्तारै त्यसको पनि मात्रा र समय बढाउँदै लैजाने । जस्तै, दिनमा दुई पटक र त्यसपछि तीन पटकसम्म खुवाउने । यो समयमा बच्चालाई फलफूलहरू अण्डा नरम बनाएर मात्रै खान दिनुपर्छ ।

बिस्तारै बच्चालाई फरक–फरक खालका फलफूल र सागहरू खुवाउनुपर्छ । र, बिस्तारै बच्चाको उमेर बढ्दै गएपछि उसले खाने खानाहरूको मात्रा पढाउँदै जाँदा हुन्छ ।

बच्चालाई खाना तयार गर्दा के कुरामा ध्यान दिने त ?

पानी खुवाउँदा सफा वा उमालेर मात्र खुवाउनुपर्छ । उसको खानामा सधै नयाँ–नयाँ प्रकारका खानेकुराहरू थप्नुपर्छ । जस्तैः साग, तरकारी, फलफूल र अण्डा जस्ता खानेकुराहरू थप्नुपर्छ । जसले गर्दा बच्चाको न्यूट्रिस्नल आवश्यकताहरू पूरा हुने गर्छ । जसले गर्दा बच्चाको वृद्धि र विकासमा सहयोग गर्छ ।

यो सबै खाना प्रत्येक दिन खुवाउनाले पछि गएर बच्चाको खाना खाने बानीको विकास पनि हुन्छ । बच्चाले कुनै खाना खान मान्दैन भने त्यो खानालाई अर्को पटक फेरि खुवाउने अथवा त्यसको केही दिन पश्चात् मात्रै उसलाई मन पर्ने खानासँग मिलाएर खुवाउनुपर्छ ।

कुनै पनि खालका खानाहरूलाई नरम बनाएर खुवाउनुपर्छ । बच्चाको लागि खाना बनाउँदा थप चिनी र नुन नहाल्ने किनभने हामीले बच्चालाई खुवाउने खानामा उनीहरूलाई पुग्ने चिनी र नुन त्यसमै हुन्छ ।

६ महिना पुगेपछि के–के खुवाउन मिल्छ त ?

बच्चा ६ महिना पुगेपछि लिटो, आमाको दूध र थोरै पानी मिलाएर खुवाउनुपर्छ । फलफूललाई सफा पानीले धोएर र कडा खालको छ भने उमालेर मात्रै खुवाउनुपर्छ । सागपातलाई पनि राम्रोसँग उमालेर मात्रै खुवाउनुपर्छ । र, मात्रा मिलाएर माछा, मासु र दही पनि खुवाउनुपर्छ ।
पोषणको स्थितिमा सुधार आए/नआएको हेर्न उमेर अनुसार तौल र उचाइ बढेको छ/छैन भनी बेलाबेला अनुगमन गर्नुपर्छ ।

बच्चालाई जुनसुकै खानेकुराहरू खुवाउँदा वा पानी खुवाउँदा पनि उनीहरूलाई बसाएर खुवाउँनुपर्छ । र, बच्चालाई समय–समयमा खाना खुवाउनुपर्छ । यसो गर्दा उमेर अनुसारको विकास हुन सहयोग मिल्छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार  ५ : ४० बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।