काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक गरेको छ । कम्पनीले बुधबार पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको थियो ।
वित्तीय विवरणअनुसार १२ अर्ब ८१ करोड चुक्ता पूँजी भएको कम्पनीले दोस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले २९ करोड २४ लाख नाफा आर्जन गरेको थियो । चालू आवमा कम्पनीको नाफा १५.४९ प्रतिशत वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमाससम्ममा भने कम्पनीले ४७ करोड ५६ लाख घाटा व्यहोरेको थियो ।
दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म कम्पनीले ३ अर्ब ४१ करोड ४२ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८४ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.२९ प्रतिशतले घटेको छ ।
चालू आवमा कम्पनीले ३ अर्ब ३ करोड ६४ लाख खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवको यही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ३९ करोड ३४ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब २४ करोड, महाविपत्ति कोषमा ३० करोड ८१ लाख, रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख र अन्य इक्विटीमा ७५ करोड ४० लाख छ ।
सो अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर २.६४ कायम भएको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा भने प्रतिशेयर आम्दानी २.२८ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ .७५ छ ।




















प्रतिक्रिया