Logo

अन्तर्राष्ट्रिय

ल्याबमा हुर्काइएका लाखौं लामखुट्टे छोडियो वातावरणमा, इकोसिस्टम विनास हुनसक्ने चेतावनी



एजेन्सी । अफ्रिकी देश जिबुतीमा लाखौं आनुवंशिक रूपमा परिमार्जित (जीएमओ) लामखुट्टे वातावरणमा छोडिएको छ।

यसको उद्देश्य मलेरिया रोग फैलाउने लामखुट्टेको प्रजातिको फैलावट रोक्नु हो।

ल्याबमार्फत बनाइएका वातावरणमा छोडिएका एनोफिलिस स्टेफेन्सी लामखुट्टेले टोक्दैनन् । यो प्रजातीको लामखुट्टेलाई बेलायती बायोटेक्नोलोजी कम्पनी अक्सिटेकले विकास गरेको हो । यी लामखुट्टेमा एउटा जीन हुन्छ जसले पोथी लामखुट्टेलाई वयस्क हुनुअघि नै मार्छ।

वास्तवमा, पोथी लामखुट्टेले मात्र टोक्छ र भाइरसबाट हुने मलेरियालगायत अन्य रोगहरू फैलाउँछ । पूर्वी अफ्रिकामा प्रयोगशालामा उब्जाएको लामखुट्टे खुला वातावरणमा छाडिएको यो पहिलो पटक हो । सम्पूर्ण अफ्रिकी महाद्वीपको बारेमा कुरा गर्दा, यो दोस्रो पटक गरिएको हो ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले ब्राजिल, केम्यान टापु, पनामा र भारतमा यस्तै प्रविधिको प्रयास गरिएको र धेरै सफल भएको बताएको छ । सीडीसीले भनेको छ कि २०१९ यता, एक अर्ब भन्दा बढी आनुवंशिक रूपले परिमार्जित लामखुट्टे विश्वभर खुला वातावरणमा छोडिएको छ।

यी लामखुट्टेको पहिलो समूह बिहीबार जिबुती सहरको अम्बौली उपनगरीय क्षेत्रमा खुला हावामा छोडिएको थियो। यो परियोजना अक्सिटेक लिमिटेड, जिबुती सरकार र गैरसरकारी संस्था एसोसिएसन म्युचुअलिस बीचको आपसी साझेदारीमा सुरु भएको हो ।

जीएमओ लामखुट्टेले कसरी काम गर्छ?

“हामीले टोक्ने नगर्ने, रोग नफर्काउने अनुकूल लामखुट्टेहरू बनाएका छौं र जब हामीले यी अनुकूल लामखुट्टेहरूलाई हावामा छोड्छौं, तिनीहरूले जंगली प्रकारको पोथी लामखुट्टेसँग प्रजनन गर्न सक्षम हुन्छन्’, ओक्सिटेक प्रमुख ग्रे फ्र्यान्डसेनले भने ।

प्रयोगशालामा हुर्कने यी लामखुट्टेमा ‘नम्बर लिमिटिङ’ जीन हुन्छ, जसले पोथी लामखुट्टेका सन्तानलाई हुर्कन र प्रजनन उमेरमा पुग्नबाट रोक्छ । वन्यजन्तु र प्रयोगशालामा बनाइएका लामखुट्टेको प्रजननबाट उत्पादन हुने लामखुट्टेमध्ये पुरुष मात्र बाँच्ने तर अन्त्यमा ती पनि मर्छन् भन्ने यस परियोजनामा संलग्न वैज्ञानिकहरू बताउँछन् ।

OXITEC कम्पनी

२०१८ मा, बुर्किना फासोको वातावरणमा न्युटेड एनोफिलिस कौलिगी लामखुट्टे छोडियो । यसको विपरित, यो नयाँ प्रजाति (एनोफिलिस स्टेफेन्सी) को लामखुट्टेले नयाँ पुस्तालाई जन्म दिन सक्छ । प्रयोगशालामा उब्जाएको लामखुट्टेलाई खुल्ला ठाउँमा छोड्ने यो परियोजना जिबुटी फ्रेन्डली लामखुट्टे कार्यक्रमको एक हिस्सा हो, जुन दुई वर्षअघि सुरु भएको थियो।

यो कार्यक्रमको उद्देश्य एनोफिलिस स्टेफेन्सी लामखुट्टेको जातको फैलावट रोक्नु हो । मानिसलाई टोक्ने लामखुट्टेको यो प्रजाति सन् २०१२ मा जिबुटीमा पत्ता लागेको थियो । त्यतिबेला जिबुती मलेरिया उन्मूलनको तयारीमा थियो । त्यतिबेला देशमा ३० जना औंलोका बिरामी भेटिएका थिए ।

त्यसयता जिबुतीमा औंलोको रोग अत्याधिक रूपमा बढ्दै गएको छ र सन् २०२० सम्ममा यसका बिरामीको संख्या ७३ हजार पुगेको थियो। लामखुट्टेको यो नस्ल अहिले अफ्रिकाका अन्य ६ देश इथियोपिया, सोमालिया, केन्या, सुडान, नाइजेरिया र घानामा पनि पाइन्छ ।

यो प्रयोगको लागि जिबूती किन रोजिएको थियो ?

एनोफिलिस स्टेफेन्सी प्रजातिका लामखुट्टेहरू एसियाका मूल निवासी हुन् र तिनीहरूलाई नियन्त्रण गर्न धेरै गाह्रो छ । यिनीहरूलाई शहरी लामखुट्टे पनि भनिन्छ, जसले परम्परागत लामखुट्टे नियन्त्रण विधिहरूलाई मार्फत नियन्त्रण गर्न सम्भव छैन।

यी लामखुट्टेले दिउँसो र राती टोक्ने र रासायनिक विषादीले यस प्रजातिमा कुनै असर गर्दैन । जिबूतीका स्वास्थ्यसम्बन्धी राष्ट्रपतिका सल्लाहकार डा. अब्दुल्लाह अहमद अब्दीले बताएअनुसार सरकारको उद्देश्य “जिबुतीमा मलेरियाको फैलावटलाई तुरुन्तै नियन्त्रण गर्नु हो, किनकी यो प्रकोप दशकमै धेरै फैलिएको छ ।’’

अफ्रिकामा मलेरियाका कारण हरेक वर्ष आधा लाख मानिसको मृत्यु हुने गरेको छ ।

यस कार्यक्रमसँग आवद्ध गैरसरकारी संस्था एसोसिएसन म्युचुअलिसका निर्देशक डा. बोह अब्दी खैरेहले भने, ‘हाम्रो समुदायका मानिसहरूमा औंलो धेरै दुर्लभ हुने कुरा धेरै पहिले थिएन ।’ डा खैरेह भन्छन्, ‘अहिले जिबुतीमा मलेरियाका बिरामीहरू दिनहुँ देख्छौं । यसलाई नियन्त्रण गर्न नयाँ कदम चाल्नुपर्ने आवश्यकता छ ।’

यो कार्यक्रमका सञ्चालकहरू भन्छन् कि जिबूती एउटा सानो देश हो, र एक मिलियनभन्दा बढी जनसंख्या भएको यो देशका अधिकांश मानिसहरू शहरहरूमा बस्छन् । यस्तो अवस्थामा त्यहाँ मलेरियाविरुद्धको नयाँ अभियान लागू गर्न निकै सहज छ । यस परियोजनामा समुदायलाई पनि साझेदार बनाइएको छ ।

जीएमओ जीवहरूमा विवाद

आनुवंशिक रूपमा परिमार्जित जीवहरू अफ्रिकामा सधैं विवादको विषय भएको छ । वातावरणीय संगठनहरू र अभियानकर्ताहरूले चेतावनी दिएका छन् कि यसले विद्यमान खाद्य श्रृंखला र इकोसिस्टममा विनाशकारी प्रभाव पार्नेछ ।

तर, ओक्सिटेकका प्रमुख फ्र्यान्डसेन भन्छन् कि विगत १० वर्षमा यस समस्याको जैविक समाधानका विकासकर्ताहरूले एक अर्बभन्दा बढी परिमार्जित लामखुट्टे वातावरणमा छोडेका छन् र अहिलेसम्म कुनै प्रतिकूल प्रभावको कुनै प्रमाण भेटिएको छैन।

फ्र्यान्डसेन आफ्नो तर्कमा थप्छन्, ‘हाम्रो जोड भनेको हामीले वातावरणमा जे छोड्छौं, त्यो सुरक्षित र अत्यधिक प्रभावकारी हुनुपर्छ । यसले वातावरणमा कुनै असर गर्दैन । किनभने तिनीहरू विषालु वा एलर्जीजनक छैनन् र यी लामखुट्टेहरू एक विशेष प्रजातिका हुन्।’

अक्सिटेकले लामखुट्टेको र्यालमा आनुवंशिक रूपमा परिमार्जित जीन नपाइने बताएको छ । यस्तो अवस्थामा ल्याबमा बनेको लामखुट्टेले कसैलाई टोके पनि यो आनुवंशिक परिवर्तनले उसलाई कुनै साइड इफेक्ट गर्दैन ।

राष्ट्रपतिका सल्लाहकार डा अब्दी भन्छन्, ‘समस्याको यो नयाँ समाधान विवादास्पद हुन सक्छ, तर यो भविष्य हो ।’ यो प्रयोग सफल भए ठूला क्षेत्रमा प्रयोगशालामा हुर्काउने लामखुट्टे छोडेर ठूला परीक्षण गरिने उनीहरुको भनाइ छ । यी लामखुट्टेहरूलाई जिबुटीको वातावरणमा छोड्ने प्रक्रिया आगामी एक वर्षसम्म जारी रहनेछ ।

मलेरिया एक घातक रोग हो, जसका कारण विश्वभर हरेक वर्ष कम्तिमा ६ लाख मानिसले ज्यान गुमाउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार मलेरियाका कारण मृत्यु हुने दशमध्ये नौजना अफ्रिकी देशहरुका हुने गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार  ३ : १५ बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।