काठमाडाैं । विश्वमा जलस्रोत र कृषिको धनी देश नेपाल अहिले नामसँग मात्र जोडिन पुगेको छ । अहिलेको अवस्थामा दुवैको उपयोगमा न त सरकार न त हामी नै जिम्मेवार बन्न सकेका छौ । लाखौं युवाहरु विदेशको भूमिमा पसिना चुहाइरहेका छन् । आफ्नो घरखेतको त कुरै नगरौं, करेसाबारी समेत बाँझो बन्ने अवस्थामा पुगिसकेको छ ।
कृषिमा वैज्ञानिक प्रणाली लागू हुन नसक्दा पुर्खादेखि हराभरा बन्दै आएको जमिन अहिले अरबको मरुभूमि झै बनेको छ । सरकार खाली कृषि पर्यटनको सम्भाव्यता छ, मात्र भन्छ । राजनीतिक दलका नेताहरु कृषि क्रान्तिको झुटो आश्वसन बाँडिरहन्छन् । युवा पुस्तालाई विदेशमा श्रम गराउने नीतिलाई बढवा दिँदै रेमिट्यानस भिञ्याएर अर्थतन्त्र धानेको लज्जास्पद कुरा मात्र गर्छ, सरकार । गाउँ घरमा बूढाबूढी र केटाकेटीहरु मात्र छन् । जोश छउन्जेल जमीन जोतेर, खनेर बहादुरी गरेका हाम्रा बाबुआमहरु अहिले बुढेसकालको सहारा खोजिरहेका छन् । जमिन बाँझो रहेको आँखाले देख्न नसकेर जसोतसो करेसाबारीसम्म अन्नबाली लगाएका छन् तर अब त्यही करेसाबारी खनजोत पनि उनीहरुको बलबुताले गर्न छोडेपछि बाँझो बन्ने निश्चित छ ।
पहिले जस्तो सबै ठाउँमा व्यस्त भएपनि जब बर्खा मौसमको आगमन हुन्छ, खेतालाहरु गोरु नारेर जमीन जोत्न सुरु गर्छन् । गाउँका दिदी बहिनी खेत रोप्न व्यस्त हुन्छन । त्यसले गाउँको शोभा नै अलग तरिकाले बढ्दो हुन्छ । त्यही बीचको बाटो जब असार पन्ध्र आउँछ, रोपाई महोत्सव गर्ने दही चिउरा खाने, गमलामा भने पनि धान रोपेर कृषि क्रान्तिको उपहास भइरहेको हुन्छ ।
अन्धो सरकार र केही टाढाबाढाहरुले कृषि क्रान्ति र कृषि पर्यटनको नाममा खल्ती भर्ने र प्रोफाइल बनाउने मेसो गरिरहेका हुन्छन । जनताको मर्म नबुझेको सरकार गाउँका किसानहरूको हालत आजसम्म बुझ्न सकेको छैन ।
बेला बेलामा सरकार जमीन बाँझो राख्ने किसानलाई कारबाही गर्ने भन्दै नाग्लो ठटाएर हात्ती तर्साउन खोजेजस्तो गर्छ । युवाहरुलाई रोजगारीभन्दा पनि कृषि पर्यटनमा लगाउने नीति र व्यवस्थापनप्रति सरकार गम्भीर देखिँदैन । अनि भएको जमीनलाई उपयोग गर्दै उद्यमी कसरी बन्ने भन्ने सोच हामीमा पनि छैन ।
आज काम गरे भोलि नै हजार हजारको बिटो पाइन्छ की पाइँदैन भन्ने लत मानसिकताको भूत हामीमा चढेको छ । पैसा हात परे भइहाल्यो ।
कृषि क्रान्तिको पाइला यसरी बतास झै चलेको छ । रसायनिक मल र विषादी प्रयोग गरी उब्जाएका अन्नबाली र तरकारीहरुको प्रयोगले स्वस्थ्य जीवन नै धरापमा परेको छ ।
विलासी जीवनशैली र महत्वाकांक्षी सोचले ढिडो, गुन्द्रुक, भटमास, मस्याग सागसब्जीहरुको स्वाद हाम्रा बाआमाले समेत बिर्सने अवस्था आइसकेको छ । हामीलाई त चिल्लो मसलादार, तारेका खानेकुराहरु प्यारो बनेको छ ।
कम्पोष्ट मलको प्रयोगबाट उब्जने अन्न र सागपातहरु हाम्रा लागि बूढापाकाको उखान झै भएको छ । गाउँ घरको शुद्ध गाई भैंसीको दूध, दही, मही हाम्रा लागि अमेरिका, युरोप जस्तै पाउन मुश्किल भएको छ । डेरीको दही घिउ र दूध हाम्रा लागि हाइजेनिक बनेको छ ।
कली युगको मध्यमा यस्तै हुन्छ भन्थे हाम्रा बाजेहरुले । खै यो कली युगको मध्यान्तर हो की । राम्रो काम गर्न नहुने, राम्रो बोल्न नहुने रहेछ । नराम्रो गर्नेहरु नै राम्रो हुने उनीहरुकै भलो हुने समयको विभिन्न घटनाहरुले पुष्टि गर्दै आइरहेकोे छ ।
असार पन्ध्र धान रोपाईँको मध्य हो । धान रोपाईँको यो मध्य समयमा गाउँ घरमा सौहार्द, एकता र खुशीका साथ पञ्चे बाजाका साथ सयौं फाँट रोपाइ हुन्थ्यो । हिलो छ्यापाछ्याप, झ्याउरे असारे गीतको रौनकता, लाखे नाँचको बेग्लै रमाइलो हुन्थ्यो । अहिले त सहरमा रोपाईँ गर्ने ठाउँ नै छैन । अनि एउटा सानो खेतको आलीमा र बीच गह्रामा सयौं जना झुम्मिएर हिलो खेल्ने, रोपाईँ गरेजस्तो गरेर रोपाईँ पर्वकै उपहास गर्ने परिपाटी बढ्दै गएको छ ।
सहरका गगनचुम्बी घरहरुले ढपक्कै ढाकेकाले जमीन भन्ने ठाउँ छैन, अनि ३/४ आना जग्गा लिएर बनाइएका घर करेसामा पनि महंगा फूल रोप्ने र सहरको ठूलो मै हुँ भन्ने आडम्बर बोक्ने शैलीको विकास भएको छ ।
त्यस्तै रोपाईँको थकान र हर्षसँगै दही चिउरा खाने परिपाटी सहरमा अफिस, घरमा हुनेले डब्बाका डब्बा दही र किलोका किलो चिउरा खाएर असार १५ मनाउने बिकृति बढेको छ । जसको फाइदा नेताहरुलाई भएको छ । जब असार पन्ध्र सुरु हुन्छ, एक छिन फोटो खिच्नको लागि भएपनि कमिलाको ताँती लागेजस्तो गरेर अनेकन नाटक देखाएको पाइन्छ ।
गाउँका जमीन बाँझो छन्, त्यहाँको जमीनमा रोपाईँ गर्न न त सरकारले चासो देखाएको छ न त सहरकारका घर कोठा र अफिसमा बस्नेहरुले सोचेका छन् ।
नीति, व्यवस्थापन, जागरुकता र काम गर्ने परिपाटीको विकास सरकार र अबको युवापुस्ताबाट नभएसम्म कृषि क्रान्तिको खोक्रो नाराले बाँझो जमीनमा हरियाली छाउँदैन र व्यवसायिक कृषि प्रणाली सम्भव छैन । यसका लागि सरकारले युवापुस्तालाई समेट्दै जमिनको उपयोग र किसानको जीवनस्तर माथि उकासी देशको अर्थतन्त्रको आधार बलियो बनाउन वैज्ञानिक कृषि प्रणालीलाई अबलम्बन गर्नुको अर्को विकल्प छैन ।




















प्रतिक्रिया