Logo

अर्थ

‘बजेट राम्रो छ, कार्यान्वयन हुनसके ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन्छ’ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट राम्रो भएको बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनको बजेट भाषण सुनेपछि अध्यक्ष ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष ढकालले बजेट राम्रोसँग कार्यान्वयन हुनसक्यो भने ६ प्रतिशतको आर्थिक वृद्धि हुने समेत बताएका छन् । निजी क्षेत्र प्रवद्र्धन गर्नुपर्छ भन्ने आफूहरुको माग रहेको र सो माग बजेटको प्राथमिकतामा परेको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

‘नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो’ उनले भने, ‘सोही अनुरूप नयाँ चरण को सुधार र आयोग बन्ने सँगै सुधार बर्ष घोषणा भएको छ, यो राम्रो कुरा हो ।’

बजेटमा समेटिएका सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवद्र्धन गर्ने, कृषिमा करार खेती र पहाडमा फलफूल खेती, पर्यटनमा वैवाहिक पर्यटन जस्ता विषयवस्तुहरु सकारात्मक रहेको अध्यक्ष ढकालको प्रतिक्रिया छ ।

सूचना प्रविधि र स्टार्टअपमा सहुलियत र विस्तारका योजना पनि सकारात्मक भएको बताएका अध्यक्ष ढकालले करका विषयमा भने प्रतिक्रिया दिएनन् । उनले भने, ‘ राजश्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।’

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार  ६ : २९ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।