Logo

प्रमुख समाचार

पिसाबको नियन्त्रण नै गुम्दा के हुन्छ ?



काठमाडाैं । के हामी पिसाबलाई नियन्त्रण गर्छौं ? हो, अवश्य पनि तर केही समय समम्मको लागि मात्रै । हाम्रो अनुकूल भए पछि हामी पिसाब फेर्छौं नै । पिसाब रोक्नु, त्यती राम्रो भने होइन । यदी हामीले लामो समयसम्म पिसाब रोक्यौं भने त्यसले हाम्रो मृगौलालाई असर गर्ने विज्ञहरू बताउँछन् । पिसाबलाई हामी केही नियन्त्रण गर्न सक्छौ तर यो नियन्त्रण गुम्यो भने के हुन्छ होला ?

एकछिन सम्झनुस् त ! तपाई तरकारी किन्न बजार जानु भयो । तपाईँलाई त्यही समयमा अचानक पिसाबले च्याप्यो तर तपाईँले शौचालय खोज्न सोच्दै गर्दा पिसाब चुहिन्छ भने के हुन्छ होला । तपाई यो कुरा कल्पना समेत गर्न चाहानु हुन्न । त्यसैले यो पिसाब चुहिने समस्या के हो ? किन हुन्छ ? कस्ता महिलाहरूमा यो समस्या धेरै हुन्छ ? के यो कुनै रोग हो ? र पिसाब चुहिने समस्या हुन नदिन के गर्ने भन्ने बिषयमा आजको सामाग्री पस्केका छौं ।

सामन्यतया कुनै पनि व्यक्तिले नचाहिएको बेला अथवा पिसाब रोक्न खोज्दा खोज्दै पनि पिसाब आफैँ चुहिन्छ भने त्यसलाई पिसाब चुहिने समस्या भनिन्छ । चाहेर पनि पिसाब नरोकिनु, जसका कारण पिसाबको नियन्त्रण गुम्नुले दिनचर्या नै प्रभावित बनाउँछ भने त्यसलाई पिसाब चुहिने समस्या भयो भनी बुझ्नुपर्छ । कतिलाई यो रोग हो कि भन्ने पनि लाग्न सक्छ ! तर यो रोग भने होइन । यो एक समस्या हो जुन समस्या विभिन्न कारणहरुले गर्दा आइपर्छ ।

पहिले हामी यसका प्रकारबारे जानौं । पिसाब चुहिने समस्या बिशेष गरी ३ प्रकारका हुन्छन् ।

पहिलो समस्या स्ट्रेस इनकन्टिनेन्स हो । जसमा कुनै प्रकारकाे तनाव जस्तो कि खोक्दा, हाँस्दा , हाच्छिउँ गर्दा, धेरै गह्रौँ सामान उचाल्दा, भर्याङ चढ्दा, न्यूरेर कुनै काम गर्दा पिसाबको थैलीमा प्रेसर पर्न गई पिसाब चुहिने हुुन्छ ।

दोस्रो : न्यूरोजेनिक भनेको कुनै किसिमको नसा सम्बन्धी रोग जस्तो कि कसैलाई पहिले मस्तिक्स घात भएको, प्यारलाइसिस भएको, त्यस्तो व्यक्तिमा पिसाबको कन्ट्रोलले उसको ब्रेनमा हानी भई पिसाब चुहिन सक्छ ।

तेस्रो : अर्ज इन्कन्टिनेन्सको भनेको पटक–पटक पिसाबले च्याप्ने कसै–कसैलाई थोरै पिसाब लाग्ने बित्तिक्कै पनि अचानक एकदमै छिटो पिसाब लाग्ने जसले गर्दा उसले ट्वाइलेट गएर पिसाब फेरिहाल्नुपर्ने हुन्छ ।

मिक्स्ड इन्कन्टिनेन्सः– कहिलेकाहीं चौथो अवस्था अन्तर्गत माथिका तीनवटा समस्याको मिश्रित रुप समेत देखिने गर्छ, जसलाई मिक्स्ड इनकन्टिनेन्स भनिन्छ ।

यो कुन उमेर समूहका महिलाहरुमा अथवा कस्ता महिलाहरुमा यो समस्या हुने हुन्छ त ?

महिलाको पिसाब नली र पिसाब थैलीलाई मजबुत राख्ने एस्ट्रोजन हर्मोनको उत्पादनमा कमी आएमा पिसाब चुहिने समस्या हुने हुन्छ । जसमा पिसाब चुहिने समस्या प्राय ५० वर्ष कटिसकेका महिलाहरूमा हुन सक्छ।

जसमाः

जुन महिलाले धेरै बच्चा पाएका छन् अथवा महिलाले घरमै बच्चा पाएका छन् भने पिसाब चुहिने समस्या हुन सक्छ ।

जुन महिलाले सुत्केरी अवस्थामा गर्नुपर्ने आराम पाएका छैनन् भने पनि पिसाब चुहिने समस्या हुन सक्छ ।

जुन महिलाले सुत्केरी अवस्थामा काम अधिक गरेका छन्, पिसाब चुहिने समस्या हुन सक्छ ।

बढ्दो उमेरसँगै मूत्रथैली र त्यसलाई भरथेग गर्ने मांसपेशीहरु कमजोर भएपछि पिसाब चुहिने समस्या हुन सक्छ ।

मधुमेह, पार्किन्ससलगायतका विभिन्न रोगहरु छ भने पिसाब चुहिने समस्या हुन सक्छ ।

मेरुदण्डको चोटपटक, गर्भावस्थामा हुने हर्मोनहरुको परिवर्तन, महिनावारी रोकिएपछि पिसाब चुहिने समस्या हुन सक्छ । ।

पिसाब प्रवाह हुने ठाउँमा कुनै गाँठागुँठी वा ट्युमर पलाएका छन् भने पिसाब चुहिने समस्या हुन सक्छ ।

पिसाबको प्रवाहमा असर गर्दा पिसाब चुहिने समस्या हुन्छ । साथै पक्षघात, ब्रेन ट्युमर आदिका कारण पनि पिसाब चुहिने समस्या हुने गरेको पाइन्छ ।

यति मात्र नभई पिसाब चुहिने अन्य कारणहरू पनि हुनसक्छन् । यस अन्तर्गत जटिल प्रसूतिका कारण उत्पन्न अब्सटे्रटिक फिस्टुला, शल्यक्रिया गर्दा मूत्रथैलीमा औजार लागेमा, पाठेघरको मुखमा भएको क्यान्सरमा समेत पिसाब चुहिने समस्या देखिन सक्छ ।

लक्षणहरु :

भारी उठाउँदा, खोक्दा, न्यूरेर कुनै काम गर्दा, भर्याङ चढ्दा पिसाब चुइयो भने ।

पिसाब गरिसके पनि फेरि पिसाब लाग्नु कहिले कहीले ट्वाइलेट पुग्न नपाई पिसाब चुहिनु ।

राति छिन छिनमा पिसाब गर्न गइरहनु पर्ने जस्ता समस्या कहीलेकही ओच्छयानमै पिसाब चुहिनु ।

कुनै कुनै महिलामा यौन सम्पर्क गर्दा पनि पिसाब चुहिनु जस्ता लक्षणहरू देखिन्छन् ।

पिसाब चुहिने समस्याले निम्त्याउने जोखिम

एक त यो समस्याहरु बताउँन पनि धेरै महिलाहरू अपठ्यारो मान्छन्। यो समस्या भइरहेको महिलामा पिसाबको गन्ध आइरहने हुन्छ । त्यसका साथै यसले निम्त्याउने जोखिम एकदमै जटील हुन सक्छ । जसमा पिसाबको संक्रमण, पिसाब थैलीको संक्रमण किड्नीसम्म पुगेर मृगौला नै खराब हुन सक्छ । पिसाब गर्ने वरीपरिको भागमा घाउँ हुन सक्छ। यस्तो समस्या भएपछि परिवारका सद्स्यरूसँग घुलमिल हुन नचाहने, घरबाहिर पनि जान नचाहने जस्ता परिवर्तन आउँछन् । यही समस्यले गर्दा एक किसिमको मानसिक समस्या पनि निम्त्याउन सक्छ ।

उपचार ?

सुरूमा पिसाब र रक्त परीक्षण गर्ने गरिन्छ । एक्सरे, अल्ट्रासोनोग्राफी, सिटीस्कान, एमआरआई, सिस्टोस्कोपी जाँच पनि गरिन्छ । त्यसपछि कुन किसिमको समस्या हो भने छ्ट्टाउनु पर्छ र त्यही अनुसार उपचार गरिन्छ । जसमा अप्रेसन अथवा विभिन्न किसिमका इन्जेक्सनहरू दिएर उपचार गरिन्छ ।

पिसाब चुहिने समस्या हुन नदिन के गर्ने ?

नियमित सामान्य व्यायम गर्ने, यसमा पनि किगल्स एक्ससाइज पिसाब चुहिने समस्याको लागि एकदमै धेरै प्रभावकारी मानिन्छ । क्याफिनेटेट ड्रिङसहरु कफी, कार्बोनाइटेड ड्रिङ्सहरु नखाने, धुर्म्रपान नगर्ने र कुनै पनि कारणले कब्जियत भइरहेको छ भने त्यो हुन नदिने ।

अर्को राम्रो हाइजिन म्यान्टेन गर्ने, मोटोपन हुन नदिने, सुरक्षित प्रसब सेवा लिने जसको लागि सकभर अस्पतालमा बच्चा जन्माउने । धेरै बच्चा नजन्माउने । बच्चा जन्माउदा कम्तीमा २ देखि ३ वर्षको ग्यापमा मात्रै दोस्रो बच्चा जन्माउनु पर्छ ।

यो लेख जानकी मेडिकल कलेज, जनकपुरधाम, धनुषाका परामर्शदाता, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.आलोक चन्द्र महतोसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको हो ।

प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार  ५ : ५७ बजे

483
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।