काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन् ।
अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको महानगरपालिकाले जनाएको छ ।
‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।’
सर्वोच्च अदालतले २०७४ असोज २ गते नै अस्पतालहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो । नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार पनि अस्पतालहरूको न्यूनतम सेवा मापदण्डअन्तर्गत अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
तर काठमाडौंका अधिकांश अस्पतालले फार्मेसी सेवा सञ्चालन निर्देशिका तथा सर्वोच्चको आदेशको अटेर गर्दै अन्य व्यक्तिहरुलाई फार्मेसी सञ्चालन गर्न दिइरहेका छन् ।
प्रतिक्रिया