काठमाडाैं । अमेरिकामा भएको एक अध्ययनका अनुसार विश्वभर ५ देखि २० प्रतिशतसम्मका मानिसहरुलाई ‘एडजस्टमेन्ट डिसअडर’ हुन्छ । अर्को क्लेभेल्याण्ड क्लिनिकको वेवसाइटमा राखिएको लेखअनुसार एडजस्टमेन्ट डिसअर्डरले संसारभरका अनुमानित २ प्रतिशत मानिसहरूलाई असर गरिरहेको छ ।
यो एक प्रकारको ‘मानसिक समस्या’ हो । तर यो समस्याको बारेमा खुलेर छलफल भने कमै हुने गरेको छ । कतिपयलाई यो रोगको बारेमा थाहा समेत नहुन सक्छ । तर यो एक गम्भीर समस्याको रुपमा देखा परेको छ । यदी यसको निदान समयमै गरिएन भने यसले व्यक्तिलाई मृत्युसम्म पुर्याउँछ ।
सामान्यतया एडजस्टमेन्ट डिसअडर जीवनमा अनुकूलबाहेकको वातावरणमा आएको परिवर्तनले निम्तन्छ । यो समस्या निम्त्याउने परिवर्तन यस्तो परिवर्तन हो जुन तपाईँले कल्पना गर्नुभएको छैन अथवा तपार्इँ त्यो कल्पना गर्न नै चाहानु हुन्न ।
कुनै पनि परिवर्तनले जीवनशैलीमा अस्वभाविक भावनात्मक तथा व्यवहारिक परिवर्तन देखाउँछ भने त्यो एडजस्टमेन्ट डिसअडर हो । यसका लक्षणहरु जीवनमा अप्रत्यासित रुपमा आएका मुख्य घटनाहरु भएको दुईदेखि तीन महिनाभित्र देखिन्छ । ती घटनाबाट देखा पर्ने अस्वभाविक परिवर्तनहरुले गर्दा व्यक्तिको दैनिकीमा प्रभाब पार्छ भने त्यसलाई नै एडजस्टमेन्ट डिसअर्डर भनिन्छ ।
कुनै प्रकारको कल्पना नै नगरेको, गर्न नचाहेको घटनाहरु भइदियो भने यो समस्या निम्तिन्छ । जसमा कुनै प्रकारको एक्सिडेन्ट भयो, कोही आफ्नो नजिकको मान्छेको मृत्यु भयो, कुनै सम्बन्ध टुट्यो, कसैले यौन दुव्र्यवहार गर्यो, कुनै स्वास्थ्यमा भएको नराम्रो असर जसले गर्दा सम्हाल्न नसक्ने गरी भावनात्मक र व्यवहारिक परिवर्तन हुनु एडजस्टमेन्ट डिसअडर हुनु हो ।
एडजस्टमेन्ट डिसअर्डर भएका व्यक्तिहरुमा कस्ता लक्षणहरु देखिन्छन् ?
एडजस्टमेन्ट डिसअर्डर भएमा फरक खालका लक्षणहरु देखिन्छन् जसमा
मन खुसी नहुनु तथा निरासा छाउनु,
‘म बाच्नुको अर्थ छैन’ भन्ने खालका सोचहरु आउनु ।
आत्तिनु
अनावश्यक चिन्ता बढ्नु ।
असहाय महशुस हुनु ।
डर लाग्नु ।
रिसाउनु ।
आत्मविश्वास कमजोर हुनु ।
नियम उलंङ्घन गर्नु ।
घरबाट भाग्नु ।
एडजस्टमेन्ट डिसअर्डरबाट पीडित व्यक्तिमा केही शारिरीक लक्षण पनि देखिन्छन् । जसमा अनावश्यक थकान, अनिद्रा, मांसपेशीमा समस्या, दुखाइ वा सुन्निने समस्या, पाचन गडबडीजस्ता समस्याहरु हुन् ।
यसभित्र पनि एडजस्टमेन्ट डिसअर्डरका प्रकारअनुसार निम्न लक्षणहरू छन् :
जसमा :-
उदास मूडको साथ एडजस्टमेन्ट डिसअर्डर हुनुः यसमा उदासी, निराशा, रुवाईँ र आनन्दको कमी महसुु हुने हुन्छ ।
चिन्ताको साथै एडजस्टमेन्ट डिसअर्डर हुनुः यसमा चिन्ता भई काममा ध्यान दिन नसक्ने सम्सया हुन्छ ।
मिश्रित चिन्ता र उदास मूडको साथ एडजस्टमेन्ट डिसअर्डर हुनुः यसमा चिन्ता र निराशा दुवै महसुस हुन्छ ।
आचरणको गडबडीको साथ एडजस्टमेन्ट डिसअर्डर हुनुः यसमा विद्रोही, विनाशकारी, लापरवाही, आवेगपूर्ण व्यवहार र नियम उलङ्घन गर्ने व्यवहारहरू देखिन्छन् ।
मिश्रित अशान्ति वा भावना र आचरणको साथै एडजस्टमेन्ट डिसअर्डर हुँदा चिन्ता बढ्छ ।
एडजस्टमेन्ट डिसअर्डर जसमा शारिरीक लक्षणहरू जस्तै टाउको दुख्ने, शरीर दुख्ने, पेट दुख्ने, मुटुको धड्कन बढ्ने जस्ता लक्षण्हरु देखिने हुन्छन् ।
एडजस्टमेन्ट डिसअर्डर कुन उमेर समूह र कस्तो अवस्थामा हुन्छ ?
यो समस्या जुनसुकै उमेर समूहकालाई पनि हुन सक्ने समस्या हो । जस्तैः कुनै बच्चा पहिलो पटक विद्यालय जाँदैछ भने उसको लागि विद्यालय जानु नै उसको लागि एकदमै ठूलो परिवर्तन हुन सक्छ । त्यो बेलामा उसलाई ‘स्याप्रेसन एङ्जाइटी’ (परिवारका सदस्य तथा साथीभाइबाट टाडिएर आउने डिसअडर)को लक्षणहरु पनि देखिने हुन्छन् ।
त्यस्तै, बाल्य अवस्थादेखि किशोरावस्थामा प्रवेश गर्दै गर्दा पनि एडजस्टमेन्ट डिसअडर हुने सम्भावना बढाउँछ । त्यो बेला विद्यालय परिवर्तन हुँदा नयाँ साथीहरू, त्यहाँको वातावरणमा घुलमिल हुन गाह्रो हुन्छ ।
घरपरिवारमा कुनै सदस्यको मृत्यु भएमा पनि एडजस्टमेन्ट डिसअडर हुन सक्छ । त्यसैगरी वयस्क अवस्थामा जस्तै बिवाह सम्बन्ध टुट्नेजस्ता घटनाहरुले गर्दा एडजस्टमेन्ट डिसअर्डर हुन सक्छ । बृद्धाअवस्थामा कुनै ठूलो रोगहरु लागेमा अथवा घरपरिवारबाट राम्रो हेरचाहर नपुगेमा एडजस्टमेन्ट डिसअर्डर हुन सक्छ ।
तनावसँग सामना गर्ने तरिका उनीहरुले सामना गर्न नसक्ने व्यक्तिहरुलाई यो हुने हुन्छ भने अर्को भनेको व्यक्तिलाई तनाव भयो तर सहयोग गर्ने मान्छेहरू छैनन्, सामाजिक क्षमता छैन भने पनि एडजस्टमेन्ट डिसअर्डर हुन्छ ।
केही व्यक्तिहरूमा तनाव सहन सक्ने क्षमता कम हुने हुँदा एडजस्टमेन्ट डिसअर्डर हुन सक्छ । जीवनमा भएको परिवर्तनलाई सहज रुपले स्वीकार गर्न सक्ने अवस्था नहुँदा अथवा त्यो स्वीकार गर्ने वातावरण सहज नभइदिँदा एडजस्टमेन्ट डिसअर्डर हुने हुन्छ ।
एडजस्टमेन्ट डिसअर्डर भएका व्यक्तिहरुले के–कस्ता कुरामा ध्यान दिने ?
एडजस्टमेन्ट डिसअर्डर एक प्रकारको मानसिक समस्या हो जसलाई हामिले तनावको कारणले हुने समस्या भनेर बुझनुपर्छ । व्यक्तिमा अधिक चिन्ता, डिप्रेसनका समस्याहरु छ र दैनिक कामकाज गर्न असहज भइरहेको छ भने औषधिको सेवन गर्नुपर्ने हुन्छ । साथै मनोपरामर्शदाताको सहयोग लिनुपर्छ ।
एडजस्टमेन्ट डिसअर्डर निको हुन यत्ति नै समय लाग्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । एडजस्टमेन्ट डिसअर्डर भएका व्यक्तिहरुलाई ठिक हुन व्यक्तिकाे सोच्ने तरिका, समयअनुसार परिवर्तन हुन सक्ने क्षमता, व्यक्तिले तनावसँग सामना गर्ने क्षमतामा भर पर्छ । यो समस्या भएका व्यक्तिहरुलाई उचित ध्यान दिइएन भने तनाव बढ्दै जान्छ र गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले घर–परिवार साथी–भाइहरूले उसलाई एक्लो छोड्नु हुँदैन । यस्तो समस्या भएका मानिसहरूलाई घरपरिवारको भावनात्मक सहयोगको निकै खाँचो हुन्छ ।
एडजस्टमेन्ट डिसअडर हुनबाट कसरी बच्ने र बचाउने ?
कुनै व्यक्ति नयाँ ठाउँमा आएको छ भने उसलाई नम्र्र व्यवहारबाट सहज महसूस गराउनु पर्छ । यसमा परिवारका सदस्य, साथीभाइ, छिमेकी वा सहकर्मीको निकै ठूलो भूमिका हुन्छ । विवाह, घर परिवर्तन वा करियर परिवर्तनको लागि मानसिक रूपमा अग्रिम तयारी हुनुपर्छ ।
यदि अचानक कुनै घटना घट्छ भने जो कोही व्यक्ति पनि एडजस्टमेन्ट डिसअर्डरको जोखिमा पुग्छ । असामान्य परिस्थिति जहाँ अत्याधिक तनाव छ भने त्यो व्यक्तिलाई मानसिक समस्या देखिनु भन्दा पहिले नै तनाव व्यवस्थापनको लागि सहयोग गर्नुपर्छ ।
यदि कुनै व्यक्तिको व्यवहारमा धेरै उदासीनता छ भने परिवारका सदस्यहरूले उसँग खुलेर कुरा गर्नुपर्छ । यदि यी प्रयासहरू गर्दा पनि व्यक्तिको बानीमा कुनै परिवर्तन भएन भने विशेषज्ञको सल्लाह खोज्नुपर्छ ।
यो लेख चिकित्सा मनोविद् सिर्जना अधिकारीसँगको कुराकानीका आधारमा तयार पारिएको हो ।




















प्रतिक्रिया