Logo

घट्यो विपन्न वर्ग कर्जा विस्तार



चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । गत असरको तुलनामा भदौमा यस्तो कर्जा २.३ प्रतिशतले घटेको छ ।

गत असारमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा २ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । लकडाउनका कारण लघुवित्त वित्तीय संस्थामा कर्जा माग घटेपछि विपन्न वर्गमा जाने कर्जा घटेको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

लकडाउनका कारण बैंकहरूको समग्र कर्जा घटेकाले विपन्न वर्गमा जाने कर्जामा पनि कमी आएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘लघुवित्तबाट आउने कर्जा माग नै घटेको होला,’ उनले भने, ‘पछिल्ला महिनामा कर्जा माग बढेको छ, यसले विपन्न वर्गमा जाने कर्जा पनि बढाउँछ ।’ पिछडिएको तथा विपन्न वर्गको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यले बैंकहरूले कुल कर्जा प्रवाहको न्यूनतम ५ प्रतिशत यो क्षेत्रमा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

गत भदौसम्म यो क्षेत्रमा जाने कर्जा घटे पनि औसतमा राष्ट्र बैंकको निर्देशन भने पालना भएको देखिन्छ । गत भदौसम्म विपन्न वर्गमा प्रवाह भएको लगानी बैंक तथा वित्तीय संस्थाको कुल लगानीको करिब ६ प्रतिशत हो । उल्लिखित कर्जामध्ये करिब २५ प्रतिशत बैंक तथा वित्तीय संस्थाले सीधै र बाँकी ७५ प्रतिशत अप्रत्यक्ष (लघुवित्त संस्था, सहकारीमार्फत) रूपमा प्रवाह गर्दै आएका छन् । विपन्न वर्गमा प्रवाहित कुल ऋणमध्ये करिब ८५ प्रतिशत हिस्सा वाणिज्य बैंकहरूको छ । यो समाचार आजको कान्तिपुरमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार ०८:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।