काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि सुधार आवश्यक रहेको बताएका हुन् । उनले प्रत्येक नागरिकले सरकार आफ्नै लागि रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै समाजमा विद्यमान विकृति हटाउन सकिन्छ ।
विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उनले यस पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
उनले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसंग स्मरण गरेका छन् ।
प्रधानमन्त्री शाहले विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले असल कर्ममा सफलता प्राप्त गर्न प्रेरित गर्ने बताएका छन् । टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्ने परम्पराले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप बलियो बनाउने उनको भनाइ छ ।
उनले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई विजयादशमीले एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन् । लामो समयदेखि भेटघाट हुन नसकेका साथीभाइ तथा आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि यस पर्वको विशेष महत्त्व रहेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले सबैलाई आफ्नो क्षमता र अवस्थाअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आग्रह गरेका छन् ।
उनको शुभकामना सन्देशको अन्त्यमा ‘जय दुर्गा भवानी’ उल्लेख गरिएको छ ।




















प्रतिक्रिया