Logo

अर्थ

६ महानगरपालिकाको बजेट ५४ अर्ब, पूर्वाधार र रोजगारी सिर्जनामा जोड



काठमाडौं । ‍सोमबार ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट विनियोजन गरेका छन् । आर्थिक कार्यविधि तथा विनियोजन विधेयक अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आर्थिक वर्षको बजेट अनिवार्य ल्याउनुपर्ने प्रावधान छ ।

५ महानगरले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएका छन् भने वीरगन्जले घटाएको छ ।

६ वटा महानगरपालिले आगामी आर्थिक वर्षका लागि कुल ५३ अर्ब ६३ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा ३.१२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि ६ वटा महानगरपालिकाले ५२ अर्ब १ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख सुनिता डंगोलले नगरसभाको १५औं अधिवेशनको तेस्रो बैठकमा आगामी आवका लागि आय–व्ययसहितको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले ११ वटा गौरवको आयोजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेकाे छ ।

महानगरले थपेकाे योजनामा कपडा बैंक, थेमाटिक स्कुल, पोखरी मर्मत तथा संरक्षण, फोहरबाट मल र महानगर होमस्टेसहित ३० वटा महानगर स्वर्णिम योजनाहरूका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेकाे छ ।

त्यस्तै, पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ र सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ विनियोजन गरेकाे छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार रुपैयाँ विनियोजन गरेकाे महानगरले जनाएकाे छ ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्यद्वारा प्रस्तुत बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । ललितपुर महानगरले गत वर्षको तुलनामा १५ प्रतिशतले बजेटको आकार बढाएको छ ।

चालु वर्षका लागि महानगरले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको थियो ।

भरतपुर महानगरपालिकाको सोमबारको नगरसभा तथा १५औं अधिवेशनमा नगरप्रमुख रेनु दाहालले १९० बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीले आगामी आवका लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा ३.८१ प्रतिशतले बढी हो ।

भरतपुर महानगरले वडास्तरबाट कार्यक्रम कार्यान्वयन गर्न न्यूनतम र सूत्रका आधारमा दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेको छ । न्यूनतम २ करोड ७४ लाख २८ हजार ५०१ र अधिकतम २ करोड ९० लाख २ हजार १३३ गरी वडास्तरीय आयोजनाहरूमा ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्न व्यावसायिक खेतीका लागि कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता दिनुका साथै कृषकको क्षमता अभिवृद्धि गर्ने लगायत प्रविधि हस्तान्तरण कार्यक्रमका लागि ६ करोड विनियोजन गरेको छ । दुध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँको अनुदान कार्यक्रमलाई महानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले सोमबार १५औं नगरसभामा बजेट प्रस्तुत गरिन् । चालु आर्थिक वर्षका लागि ६ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्षका लागि ५ प्रतिशतले बजेट वृद्धि गरेको हो ।

बजेटमा शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न महानगरले १ अर्ब ६५ करोड, स्वास्थ्यमा ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि ५६ करोड, सामाजिक विकास अन्तर्गत लक्षित वर्गतर्फ ६ करोड र संस्थागत विकासतर्फ २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पूर्वाधारतर्फ मुस्ताङचोक–सहिदचोक खण्ड, चिप्लेढुंगा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि ३ करोड, फेवा फेरो पदमार्ग निर्माणलाई ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि ९० लाख विनियोजन गरिएको छ ।

यस्तै, एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनाका लागि २६ करोड १६ लाख, पर्यटन लक्षित कार्यक्रमहरू सञ्चालन गर्न एक करोड ५० लाख, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा बिच निर्माणको काम सुरु गर्न २ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

सहरी गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा विपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि महानगरले १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो बजेट चालुको संशोधित बजेटभन्दा १३ करोड ८१ लाख २१ ले बढी हो । ‘छोरी बचाऊ, छोरी पढाऊ’ जस्ता अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सोमबार महानगरको १४औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन् ।

सामाजिक सुरक्षा र विकासलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको महानगरले कृषि, पर्यटनसँगै महानगरको शैक्षिक कार्यक्रमलाई महत्त्व दिएको छ ।  महानगरीय सुलभ फार्मेसीको स्थापना तथा सञ्चालन गर्ने, छोरी बचाऊ छोरी पढाऊ कार्यक्रमअन्तर्गत पहिलो र लगातार दोस्रो छोरी जन्माउने आमालाई प्रोत्साहनबापत उपलब्ध गराउँदै आएको रकमलाई निरन्तरता दिने जनाइएको छ ।

कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि कृषि क्षेत्रमा व्यावसायीकरण, यान्त्रीकरण एवम् आधुनिकीकरण र सिँचाइमा जोड, जलवायु परिवर्तन रासायनिक विषादीको प्रयोगबाट पर्ने असर न्यूनीकरण गर्दै वातावरणमैत्री प्राङ्गारिक कृषि प्रणालीलाई प्रोत्साहन उपलब्ध गराउँदै आएको कामलाई जाेड दिने जनाइएको छ ।

त्यसैगरी, वीरगन्ज महानगरले आगामी वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको छ । शनिबार आयोजित १५औं नगरसभामार्फत महानगरले बजेट सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको वीरगन्ज महानगरपालिले आगामी आर्थिक वर्षका लागि ९.९२ प्रतिशतले बजेट घटाएको हो । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख इम्तियाज आलमले चालु वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको बताए । उनले संघीय सरकारको राजस्व असुलीमा आएको संकुचनको कारण राजस्व बाँडफाँट घट्न गएको, घरजग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिस्ट्रेसन आयस्रोतसमेत घट्न जाँदा आगामी वर्षका लागि बजेटको आकार घटाउनु परेको बताए ।

 

प्रकाशित मिति : असार ११, २०८१ मंगलबार  १० : ५३ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।