Logo

अर्थ

लघुवित्तले नाफाबाट ग्राहक संरक्षण कोषमा राख्ने रकम बढाइयो, ३ लाखसम्म घर कर्जा

अब एउटै ऋणीले दुई वटा लघुवित्तबाट कर्जा पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ग्राहक संरक्षणका लागि खर्च गर्नुपर्ने रकम बढाएको छ ।

राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै मुनाफाको ३ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने नियम ल्याएको हो ।

लघुवित्त कम्पनीहरूले अहिले नाफाको १ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राख्नु पर्छ । चालु आर्थिक वर्षको नाफापछि भने यसमा क्रमिक रूपले वृद्धि गरिएको छ ।

अब लघुवित्त कम्पनीहरूले २०८२ असारमा ग्राहक संरक्षण कोषमा  नाफाको १.५ प्रतिशत, २०८३ असार हुने नाफापछि २ प्रतिशत र २०८४ मा नाफाको ३ प्रतिशत रकम राख्नु पर्नेछ ।

यस्तै वार्षिक १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्दा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था यथावत राखेको छ ।

यस्तै लघुवित्तले न्यून लागतको घर निमार्णको लगानी समेत कर्जा लगानी गर्न सक्ने भएका छन् । यसअघि सोलार हाउस सिस्टम र बायोग्यासका लागि ३ लाखसम्मको कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेकोमा अब ३ लाख बराबरकै न्यून लागतको घर निमार्ण कर्जा दिन सक्ने भएका हुन् ।

त्यस्तै, परिस्थितिवश ऋण तिर्न नसकिरहेका ऋणीहरूले ६ महिनाको समय दिँदा ऋण तिर्न सक्नेछन् भन्ने लागेमा लघुवित्तले यो अवधिको लागि ऋणीलाई कालो सूचीबाट हटाउन सक्ने भएका छन् ।

त्यसपछि पनि ऋण नतिर्नेलाई भने फेरि कालोसूचीमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

अब एउटा ऋणीले दुई वटा लघुवित्त कम्पनीबाट ऋण लिन सक्नेछन् । बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा कर्जा सीमा ननाघ्ने गरी यस्तो कर्जा दिन पाउने भएको हो । लघुवित्तहरूमा समस्या आएपछि यसअघि एउटा संस्थाबाट मात्रै ऋण लिन पाउने व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १२:३१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।