काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान)को आसन्न अधिवेशन आगामी सेप्टेम्बर २३ तारिखका दिन सम्पन्न हुन गइरहेको छ । यस अधिवेशनले टानको नयाँ नेतृत्व चयन गर्ने छ ।
आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले १ करोड बराबरको राहत तथा उद्धार अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
आफ्नो मुख्य एजेण्डा अघि सार्दै उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने बताए ।
पाण्डेले टान सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै बेला घाइते हुने वा मृत्युसम्म हुने अवस्था आइपर्ने उल्लेख गर्दै त्यस्तो समस्यामा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षय कोष स्थापना गर्नु महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।
त्यसैगरी उनले व्यवसायीहरुलाई कुनै पनि बेला दीर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अवस्थामा अक्षय कोषले राहत दिने बताए । यस अक्षय कोषलाई एक बर्षभित्र १ करोड बराबरको बनाइने उनले बताए ।
यसैगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समितिको आवश्यकता पुरा गर्नेगरी बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको अवधारण पनि उनले पहिलो चरणको आफ्नो योजनामा अघि सारेका छन् । प्रत्येक आर्थिक वर्षको अन्त्यमा ट्याक्स/भ्याटको सीमा तथा नियमहरुमा फेरबदल भइरहने हुनाले कतिपय व्यवसायीहरु अलमलमा पर्ने तथा समस्यामा पर्ने गरेका छन् ।
बैंकिङ क्षेत्रसँग जोडिएको कर्जा, व्याज तथा अन्य परामर्शमा पनि यस समितिले सहयोग गर्ने छ । यस इकाई समितिले भ्याट, ट्याक्स तथा बैंकिङ क्षेत्रका बारे जानकारी गराउने, परामर्श दिने तथा आवश्यक प्रकृया पुरा गर्नमा सहजीकरण गर्ने र सम्बन्धित समस्या समाधानमा सहयोग गर्ने उनको विश्वास छ ।
यसका अतिरिक्त पाण्डेले टानमा एउटा अलग्यै विभागका रुपमा कानूनी परामर्श इकाइको आवश्यकता महसुस गरी कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेका छन् । यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासननिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन पाउने उल्लेख छ । कानुनी समस्यालाई टानले सहजीकरण गरी समस्या समाधानका लागि पहल गर्ने उनले बताएका छन् ।




















प्रतिक्रिया