काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ ।
आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ । उक्त रकम अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो । यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ ।
नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो ।
आय नै घटेकाले आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ मात्र छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्ष खुद मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो ।
यस अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले कम भएको छ ।
प्रतिसेयर आम्दानी ३६.७७ रहेको नेपाल टेलिकमको कर अघिको मुनाफा ३.९१ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ७७ करोड ९८ लाख ४ हजार रहेको कर अघिको मुनाफा अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार थियो ।
नेपाल टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा राजश्व र खुद मुनाफा कम हुनुमा ओटीटी सेवाको बढ्दो कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तरआबद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी हुनु हो । साथै ओटीटी सेवाले कम्पनीको समग्र भोइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।




















प्रतिक्रिया