Logo

अर्थ

गोसाईँकुण्डमा पहिलो पटक बल्यो बिजुली



काठमाडौं । रसुवाको गोसाइँकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । यसबाट गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज हुनेछ ।

प्राधिकरणले समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार साँझदेखि ग्रिडको विद्युत् पुर्‍याइएको जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईँकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याएको जनाएको छ । बत्ती पुगेसँगै गोसाईँकुण्ड क्षेत्र झिलिमिली भएको हो ।

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाईँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्र उज्यालो बनाउने अभियान अन्तर्गत गोसाईँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणमा जागिर सुरु गर्नासाथ प्युठानस्थिति धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारीमा विद्युत् पुर्‍याएको समेत स्मरण गरेका छन् ।

अहिले देशलाई पूर्णरूपमा उज्यालो बनाउने अभियान अन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिरजस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याउने तयारी भइरहेको उनले जानकारी दिए ।

रसुवा सदरमुकामबाट गोसाईँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईँकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मर लगायत उपकरण मानिस र खच्चडले ढुवानी गरिएको थियो ।

गोसाईँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभीएको ट्रान्सफर्मर राखिने छ ।

गोसाइँकुण्डमा विद्युत् पुर्‍याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब रु. तीन करोड रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १३:४१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।