Logo

समाचार

यस्ता हुन्छन् मंकीपक्सका लक्षण, कसरी बच्ने?



काठमाडाैं । अहिले मंकीपक्स रोगको बारेमा धेरै चर्चा भइरहेको छ । कोभिड-१९ पछि मंकीपक्सलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि स्वास्थ्य आपतकाल घोषणा गरेको तथ्यबाट पनि बुझ्न सकिन्छ ।

डब्लुएचओकाअनुसार विश्वका एक दर्जनभन्दा बढी देशमा मंकीपक्सका घटना देखिएका छन् । यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखा परिहेको छ ।

यस्तो अवस्थामा यस रोगबाट टाढा रहनु जरुरी हुन्छ । त्यसका लागि यसको लक्षणहरू के हुन् र आवश्यक भएमा यसबाट आफूलाई कसरी जोगाउन सकिन्छ भन्ने थाहा हुनु महत्त्वपूर्ण छ ।

मंकीपक्स कसरी सर्छ ?

यो एक संक्रामक रोग हो जुन सम्पर्कबाट सर्ने चिकित्सकहरु बताउँछन् । यो छालाको सम्पर्कबाट, संक्रमित व्यक्तिको नजिक आउँदा र यौन सम्पर्कबाट फैलिन्छ ।

यो आँखा, मुख, नाक र कानबाट हाम्रो शरीरमा प्रवेश गर्छ । एकै समयमा संक्रमित मुसा, बाँदर र गिलहरीको सम्पर्कमा आयो भने यो भाइरस फैलन्छ । भाइरस भएको ओछ्यान र लुगा कपडाबाट पनि सर्ने गर्छ ।

मंकीपक्सका लक्षणहरू

मंकीपक्स सङ्क्रमण भएपछि मानिसमा ज्वरो आउने, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किँदै जाने, टाउको ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थी बढ्ने जस्ता लक्षण देखिन्छन् ।

मंकीपक्सबाट कसरी बच्ने ? 

मंकीपक्स भाइरसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा जानु हुँदैन ।

पूर्ण सरसफाइमा ध्यान दिनुपर्छ र बारम्बार हात धुनुपर्छ ।

डाक्टरकाे सल्लाहअनुसार खोप लगाउनुपर्छ ।

सङ्क्रमित व्यक्तिले लगाएका लुगा, प्रयोग गरेको तौलिया, ओछ्यान र भाँडाहरू तातो पानीले वा साबुनपानीले मजाले धुने गर्नुपर्छ ।

मरेका जनावरको सम्पर्कमा जानु हुँदैन ।

मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ ।  यो गर्मी मौसममा धेरै सरुवा रोगको संक्रमण बढ्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १५:४३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।