Logo

अर्थ

एमसीसी नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक



काठमाडौं । एमसीसी नेपालले आफ्नो काममा उल्लेख्य प्रगति भएको बताएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो ।

५ वर्षसम्म परियोजना सम्पन्न हुन नसकेको अवस्थामा एमसीसीले दिएको अनुदानमध्ये खर्च हुन बाँकी रकम फिर्ता लैजाने प्रावधान छ ।

तर, एक वर्षसम्म पनि यो अनुदानबाट बन्ने सबैभन्दा प्रमुख आयोजना प्रसारण लाइनको ठेक्का लाग्न सकेको छैन । ३ सय १५ किलोमिटर ट्रान्समिसन लाइनमध्ये १८ किलोमिटर क्रसबोर्डर लाइनको ठेकेदार छनोट भइसकेको र चाँडै सम्झौता गर्ने तयारीमा एमसीए नेपाल छ । तर, बाँकी २ सय ९७ किलोमिटर लाइनको नयाँ टेन्डर पनि खोलिएको छैन ।

त्यस्तै, परियोजनाका लागि आवश्यक जग्गामध्ये अधिकांश प्राप्त गर्न बाँकी नै छ । यस्तो अवस्थामा परियोजना कार्यान्वयनमा ढिलाइ हुने र अनुदान फिर्ता हुने हो कि भन्ने चिन्ता स्वाभाविक पनि हो ।

पत्रकार सम्मेलनमा एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिष्टले लामो समयदेखि रोकिएका कामहरु सुचारु भएको बताए । जग्गा प्राप्तिको काम सुरु हुनु, विभिन्न जिल्लामा मुआब्जा वितरणको लागि समिति बन्नु र धादिङ, मकवानपुर र नवलपरासी पश्चिममा जग्गाको मुआब्जा निर्धारण हुनु उपलब्धि भएको बताए ।

प्रमुख कार्यकारी अधिकृत बिष्टले विभिन्न ९ जिल्लामा पहिलो चरणको रुख गणना गर्ने काम सम्पन्न भएको बताए । प्रभावित ९ जिल्लामा करिब ४७ हजार रुख काटिने भएको पनि उनले बताए ।

एमसिए नेपालले ३ वटा मुख्य सवस्टेशनको ठेक्का सम्झौता भएको बताएको छ । नयाँ बुटवल, नवलपरासी पश्चिम, रातमाटे नुवाकोट र नयाँ दमौली, तनहुँ खण्डको ठेक्का सम्झौता भइसकेको बताएको छ । त्यस्तै दुई वर्षे जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम प्रदान गरिएको र प्रभावित क्षेत्रका जनतालाई बैंकिङ साक्षरता तालिम दिइएको बताएको छ ।

त्यस्तै सडक मर्मतसम्भार आयोजनाअन्तर्गत सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिम लगायतका सहयोग प्रदान गरेको जनाएको छ । आवधिक मर्मतसम्भारका लागि दुई वटा सम्भावित सडक खण्डको पहिचान गरी स्वीकृत गरिएको बताएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १०:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।