काठमाडौं । पाँचौं संस्करणको पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा काठमाडौंमा आयोजना हुने भएको छ ।
नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।
रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको परिसंघले जनाएको छ ।
पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रुपमा के–के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु के–के छन् भन्ने विषयमा गहन रुपमा सम्मेलनमा छलफल हुने उनले बताए । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने उनको भनाइ छ ।
कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरू पूर्वाधार सम्मेलनमा पनि राखिने बताए ।
‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, ऊर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए ।
सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरू, लगानीकर्ताहरूको सहभागिता रहनेछ ।
यसैगरी महानगरपालिका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरूले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् ।




















प्रतिक्रिया