Logo

प्रमुख समाचार

चिकित्सक सङ्घले भन्यो– बिदाको दिन ओपीडी सञ्चालन गर्ने कुरा अवैज्ञानिक र अव्यवहारिक



काठमाडौं । नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदाका दिन समेत सवै प्रकारका अस्पतालबाट  स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्न सरकारले दिएको निर्देशन अव्यवहारिक तथा अवैज्ञानिक रहेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् ।

सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको डा. तिवारीले बताए ।

स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ ।

‘स्वास्थ्यकर्मीलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरीत बिदाका दिनमा समेत बहिरंग सेवा सञ्चालन भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर जाने हुँदा गुणस्तरीय सेवामा असर पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको स्वास्थ्यमा थप प्रतिकुल असर पर्ने सम्भावना रहेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।’

कामको अत्यधिक बोझ र अरु तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्ध विच्छेदका घटनासमेत भएको संघले जनाएको छ ।

७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले सोमबार स्वास्थ्य संस्थालाई एक परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह निर्देशन दिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १४:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।