Logo

पत्रपत्रिका

थेग्नै नसक्ने गरी बढ्यो जनाक्रोश



काठमाडौं । राजधानीको आँगनमै, सरकार र जनप्रतिनिधिका आँखै अगाडि जनता डुबिरहे, मरिरहे, चिच्याइरहे, कसैले पनि देखेनन् ।

देश र जनता आगोमा झुल्किरहेका थिए, सम्राट निरो भ्वाइलिन बजाइरहेका थिए जस्तै अवस्था नेपालको राजनीति बर्ग र सरकारको देखियो । जनतालाई जतिखेर आपत पर्‍यो, सरकार र नेताले देखेनन्, मर्ने मरिसके, गुमाउनेले गुमाइसकेपछि सरकारले सर्वदलीय बैठक राख्यो ।

देश र जनताप्रति कुनै नेता, कुनै पार्टी पनि जवाफदेही भएनन् । देश बिपत्तिमा उदाङ्गियो, दुई तिहाइको सरकार बिपतसँग लड्न अग्रसर भएनन् । यो बिधि, पद्धति, प्रशासन, नेतृत्व सबै असफल भए । देश असफल भयो ।

बिहीवार, शुक्रवार र शनिवारबारको अति वर्षाले राष्ट्रिय जीवनलाई अस्तव्यस्त बनाइदियो । जनधनको ठुलो नोक्सानी भयो । जिल्ला जिल्ला, सहर सहरको सम्र्पक टुट्यो । उद्धार कार्यमा राज्य चुक्यो ।

दशौं लाख क्याडर भएका क्याडर बेश पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी र अन्य साना दलहरूले कार्यकर्ता परिचालन गरेनन् । जनप्रतिनिधिले तमासा हेरेर बसे ।

जनताले गुहार गुहार भनेर चिच्याइरहे, सरकार थिएन सुनेन । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा भुलिरहेका थिए, रमाइरहेका थिए । उनले सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेर आफ्नो जिम्मेवारी पूरा गरे ।

राष्ट्रपतिले पनि टीभीमा जनताको बेहाल, मृत्यु, बर्बादी हेरेर समय बिताए । गृहमन्त्रीले सिंहदरवारबाट ५ किलोमिटरमा पर्ने नखु खोलाले घेरिएर जस्ताको छतमा बसेर बचाउ, बचाउ भनेर चिच्याएको चार घण्टासम्म पनि हेलिकोप्टर पठाएनन् र उनीहरू बाढीमा हेलिन बाध्य भए ।

पछि गृहमन्त्रीले प्रष्टिकरण दिए– भिजिबिलिटी नभएर हेलिकोप्टर पठाउन सकिएन । त्यही बेला त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भइरहेका थिए । सरकार सरकार छैन । जनतालाई अभर पर्दा सरकार यसैगरी चुक्ने गरेको छ । पार्टीहरू जनताप्रति इमानदार छैनन् भन्ने फेरि पनि प्रष्ट भएको छ ।

इतिहासमै पहिलो पल्ट राज्यको मौसम विभागले तीन दिन अघि नै अतिवर्षा हुने र सर्तक रहन सावधान गराएको थियो । राज्यले हल्का लियो, जसका कारणले देशैभरि बाढी, पहिरोले उत्पात मच्चायो ।

नदी किनारका घरहरू डुबे, सम्पत्ति बगाए, पहिरोले यातायात साधन, घर, मान्छे पुरियो । कति नोक्सानी भयो, त्यसको अनुमानसम्म पनि सरकारले गर्न सकेको अवस्था छैन ।

प्रधानमन्त्री राष्ट्रसंघमा अंग्रेजीमा अन्टसन्ट बोलिरहेका थिए, २०२६ मा नेपाल बिकासोन्मुख बन्ने फुर्ति लगाउँदै थिए । नेपालमा अतिवर्षाबाट सिर्जित बाढी, पहिरोले जनतालाई लतारेको थियो, मारिरहेको थियो, बगाइरहेको थियो ।

जनताका साथमा नेता थिएनन, पार्टी थिएन, सरकार थिएन । मर्ने भगवानका प्यारा भए, बाँच्ने जनता भगवान भरोसा बाँचे । नेपाल अर्काे १० वर्ष पछाडि धेकेलियो ।

हदैसम्मको गहै्रजिम्मेवार राजनीति, प्रशासन । यस्तै कुनियत राख्ने राजनीति र भ्रष्ट प्रशासन नयाँ पुस्तालाई सुम्पने ? हामी कहाँ थियौं कहाँ पुग्यौं ? आउने दिनमा के के चुनौति आउनेछन्, कसरी मुकाविला गर्ने ?

राजनीति र प्रशासन दिनानुदिन गैरजिम्मेवार हुँदै गएको छ र सप्रिने वा सुध्रिने कुनै छाँटकाटँ छैन । राष्ट्रिय स्थिति असभ्य, असह्य र बिस्फोटक बनिसकेको छ । जनतामा बढेको आक्रोश यो बिधि, ब्यवस्था र नेतृत्वले जनअसन्तुष्टि थेग्न सक्ने देखिन्न । जनजीवनमा आहत बढेको छ ।

जुनसुकै राजनीतिक प्रणाली अवलम्बन गरे पनि नेतृत्वमा इमान र नैतिकता हुनै पर्ने रहेछ । नेतृत्व बेइमान भएपछि देश र जनताले हरेक क्षण प्रताडित हुनु पर्दो रहेछ । यसको ज्वलन्त दृष्टान्त शुक्रवार र शनिवारको बाढीपहिरोको बिपत्ति बनेको छ । जनता त्यसै पनि दुखित पीडित थिए, दुःखको पहाडले थिच्न पुगेको छ ।

घाम लागेपछि फेरि जानस क्ने सुख्खा पहिरो र यो अतिवर्षाले अरू के कति क्षति पुर्‍यायो, त्यसको तथ्य आएपछि कहाली लाग्दो अवस्था देखिने पक्का छ ।

शासक, प्रशासकको गैह्र जिम्मेवार चरित्र देखेर जनतामा चरम वितृष्णा बढेको छ । यो जनबितृष्णालाई मत्थर पार्नसक्ने राजनीतिक सुझबुझ नेतृत्वमा अभाव छ, सुरक्षाघेराले यो बिधि पद्धति कति दिन चलाउन सक्लान् यो नेतृत्वले भन्ने प्रश्न उठिसकेको छ ।

लोकतन्त्र लोकतन्त्र भनिरहेका यी नेताहरू कुन सिद्धान्त र मान्यताबाट निर्देशित छन् ? भन्न सक्देनन् । किनकि यिनीहरू स्वार्थको मार्गमा छन् । स्वार्थका लागि सरासर झुटो बोल्नु, जनतालाई ढाँट्नु र शक्तिको अपचलन गरिरहेका छन्। राजनीतिलाई अपराधिकरण यिनको मुख्य सिद्धान्त बनेको छ ।

यिनले स्वार्थ पूरा गर्न जनताको मान, देशको सम्मान, लोकतन्त्रको गरिमा सबै दाउमा थापेका छन् । राजनीतिक अधर्म यिनको सिद्धान्त बनेको छ । अब राष्ट्रका सामु प्रश्न उठेको छ– नेतृत्वको बिकल्प खोज्नैपर्छ, परम्परागत शक्तिको टेको लाग्नैपर्छ । वर्तमान नेतृत्वको चाल, चेहरा र चरित्रप्रति बढेको जनघृणा उर्लियो भने के होला, के नहोला ?

प्राकृतिक बिपत झेल्नेले आक्रोशको आँधीबेहरी सिर्जना गरिदिए भने के होला, के नहोला ? वर्तमान नेतृत्व धृत राष्ट्रको अवस्थामा छ । महाभारतमा यद्धुको सम्भावना बढ्दै गएपछि युद्धलाई रोक्न भगवान श्रीकृष्ण शान्तिदूतका रूपमा धृतराष्ट्रको सभामा शान्ति प्रस्ताव राख्छन् ।

युद्ध रोकौं, युद्ध भयो भने त्यसको जवाफ स्वयं धृतराष्ट्रले दिनुपर्ने खबरदारी समेत गर्छन् । पाण्डवलाई इन्द्रप्रस्थ राज्य र त्यो नभए पाँच गाउँ माग्छन्, गोरखा एक्सप्रेसमा खबर छ ।

श्रीकृष्णका प्रस्ताव दुर्योधनले अस्वीकार गर्छन् । भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य, विदुर कसैले मनाउन सक्दैनन् । अन्ततः महाभारतको युद्ध भएरै छाड्छ । कौरव पक्षले सर्वस्व गुमाउँछ । यसको दोष धृतराष्ट्रको थाप्लोमा बज्रिन्छ । नेपालमा त्यस्तै स्थिति बढ्यो, थेग्नै नसक्ने जनाक्रोश बढ्यो ।

नेतृत्व असफल भयो, नेतृत्वले देश असफल बनाए । बढ्दो जनाक्रोशलाई महाभारतको जस्तो यद्धुका लागि निम्त्याउने कि समय छँदै निकासका लागि अग्रसर हुने ? यसको जवाफ नेतृत्व आफैले खोजुन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार ०७:२७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।