Logo

अर्थ

पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्छ : इप्पान अध्यक्ष कार्की



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी, पहिरो लगायतका विपद्बाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बोल्दै अध्यक्ष कार्कीले विकास निर्माणका काम र पुनर्निर्माणको काममा सरकार नीतिगत रुपमा स्पष्ट नभएको बताएका हुन् ।

उनले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि के कति बजेट लाग्छ र के कस्ता कामहरु गर्नुपर्छ भन्नेकुरामा सरकार प्रष्ट हुनुपर्ने बताए। उनले विकास निर्माणको काम र पुनर्निर्माणको कामका लागि स्पष्ट नीति र दीर्घकालिन सोँच हुनुपर्ने उल्लेख गरे । उनले विकास निर्माणको काममा पनि कुन क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने हो भन्नेमा सरकार स्पष्ट हुनुपर्ने बताए ।

उनले भने- ‘सरकारले पुनःनिर्माण गर्दापनि हाम्रो योजना, बजेट यो हो भनेर आउनुप¥यो । र आगामी दश वर्षपछि देशलाई कहाँ पु¥याउने हो भनि स्पष्ट खाकासहित आउनुपर्छ । कुन–कुन क्षेत्रलाई विकास गर्ने हो छ त रु कुन क्षेत्रलाई कति अगाडी बढाउने भन्ने तरिकाले अगाडी बढाउनुपर्छ । पुनःनिर्माणका लागि पैसा कति चाहिन्छ भन्ने कुरा थाहा भयो भने त्यसपछि हामी नेपालमा कति पैसा छ भन्ने कुरा क्यालकुलेशन गर्नसक्छौँ । कहिले टार्गेट के हो त भनेर आएको छैन । सबै कुरा गर्नका लागि पुनःनिर्माणका लागि, नयाँ निर्माणका लागि, देश विकास गर्नको लागि सबभन्दा ठूलो कुरा भनेको नीति हो । नीति स्पष्ट हुनुपर्छ । दीर्घकालिन सोच हुनुपर्छ । स्वदेशी लगानीकर्ताहरुलाई त्यही अनुसारले संलग्न गराउँदै जानुपर्यो‍ । स्वदेशी लगानीकर्ता आकर्षित हुँदै जाँदा विदेशी पनि आउँछन् ।’

उनले सरकारसँग बजेटको सिमितताका कारण पुनर्निर्माणको काम प्रभावित हुने अवस्था देखिएको बताए । उनले विपद्का कारण सडक सञ्जालहरु टुटेका कारण काम भइरहेका ठाउँमा पनि काम अवरुद्ध भएको बताए ।

उनले भने- ‘विकास गर्छु र पुनःनिर्माणको पनि काम गर्छु भन्ने सम्भावना थोरै देख्छु । किनकी बजेटको सिमितता छ । कुनै दातृ संस्था आएको पनि देखिएको छैन । जति विकास आयोजनाहरु बन्दै गरेपनि केही महिना धकेलियो । दुई चार महिना काम गर्नसक्ने सम्भावना छैन । सडकका कारण कन्ट्रक्शनका सामान पुर्‍याउन सक्ने स्थिति छैन । विकासका कुरा धकेलिन्छ । तर आन्तरिक स्रोतले पनि बनाउँदै जानुपर्छ । राहत वितरणको सन्दर्भमा पनि नीतिगत सुधार गर्नुपर्छ ।’

सरकारले सडक, पुल लगायतका संरचना बनाउँदा दिगो रुपमा सोच्नुपर्ने उनले उल्लेख गरे । अध्यक्ष कार्कीले खोला किनारामा बस्ती बसाउन दिनु नहुने र पुल पनि हजारौँ वर्षको बाढीलाई थेग्न सक्ने गरी बनाउनु पर्नेमा जोड दिए । हरेक संरचनाहरु बनाउँदा विशेष अध्ययन गर्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार ११:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।