Logo

प्रमुख समाचार

कांग्रेस दोलखाका सभापति लामालाई छैन आफ्नैको भर, गौरीशंकरमा अन्तरघातकै डर



नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिका सभापति वर्मा लामाले आसन्न उपनिर्वाचन कांग्रेसले आफ्नै कारण हार्नसक्ने टिप्पणी गरेका छन् ।

शुभ दिपावली–२०८१ को अवसरमा नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे सशस्त्र युद्धमा माओवादीले मार्दा पनि नसकिएको कांग्रेसमा आफ्नै कारणले हार्ने डर रहेको बताएका हुन् । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ । आसन्न उपनिर्वाचनमा कांग्रेस एक ढिक्का रहँदा गौरीशंकरमा कसैले हराउन नसक्ने उनको भनाइ छ ।

‘हाम्रो एकता, कांग्रेसको एकता नभएकै कारणले, कांग्रेसका साथीहरुको मतभिन्नता भएकै कारणले हामी पराजीत भएका छौं । कुनै शक्तिले पनि अहिलेसम्म कांग्रेसलाई हराउन सकेको छैन । सबै एकजुट भएर लागेको खण्डमा त्यहाँको जित सुनिश्चित छ,’– उनले भने ।

दोलखामा माओवादी तेस्रो शक्तिको रुपमा रहेको उनको भनाइ छ । गौरीशंकरमा पनि मुख्य प्रतिस्पर्धीको रुपमा कांग्रेस–एमाले रहेको उनले बताए । ‘निर्वाचनको कुरा गर्दा माओवादी म पहिलो दर्जाको पार्टी त्यहाँ (गौरीशंकर गाउँपालिका) भन्दैछ । दोलखा जिल्लाको सिंगो भोट उहाँहरुको ११ हजार हो । २७ हजार भोट कांग्रेसले थपेर जितेर पठाएको हो । उनीहरु दोलखा जिल्लामा तेस्रो पार्टी हो, गौरीशंकरमा पनि तेस्रो शक्ति हो । हाम्रो प्रतिस्पर्धा भनेको एमाले र कांग्रेसबीचको प्रतिस्पर्धा हो । त्यस कारणले अब माओवादीसँग हामीले मोलाहिजा राख्नुपर्छ भन्ने छैन । हाम्रो भोट लिएरमात्रै उनीहरुले जितेको हो । उनीहरु त्यति शक्तिशाली छन् भन्ने मलाई लाग्दैन । हामीले अब एकशुत्रीय रुपमा कांग्रेस के चिज हो भन्ने बुझ्नुपर्छ ।
.हिजो माओवादीको द्वन्द्वकालमा बन्दुक हानेर, खुँडा हानेर, रगत छाद्नेगरी मान्छे कुटेर मार्दैगर्दा पनि नसिधिएको कांग्रेस आज त्यहाँ हामी समाप्त भयौं भनेर घोषणा गरिएको पनि सुनियो । कांग्रेस एउटा यस्तो शक्ति हो, दुवोजस्तो मौलाइरहन्छ । कुनै–कुनै बेला पानी नपाउँदा अलिकति सुकेजस्तो भएपनि फेरी बौरिएर आउने चिज हो । त्यसैले कांग्रेसलाई कसैले आँकलन गर्दा त्यति सजिलो आँकलन नगरोस् । म चेतावनी दिन चाहन्छु,’– उनले भने ।

आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा गौरीशंकर गाउँपालिकामा कांग्रेसले पासदिकी शेर्पा तामाङलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०८१ शनिबार  ७ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।