Logo

खेलकुद

कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी



काठमाडौं । युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ ।

छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।

कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए ।

कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । रचनाले २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चेर २ विकेट लिइन् ।

यस्तै कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले १-१ विकेट लिए । मनिषाले पनि २ ओभरमा १ मेडन राख्दै १ रन मात्र खर्चिइन् ।

महतोले ३८ बल खेल्दा ४ चौका मद्दतमा ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् ।

ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसाकुमारी यादवले १५ रन जोडिन् ।

कुवेतकी आयशा इकवाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १४:३१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।