काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले कर्मचारीको मनपरी सरुवा गरेको पाईएको छ । शेरचनले सँस्थागत सुशासनको धज्जी उडाउँदै ज्वाई भतिज भान्जा-भान्जी लगायत आँफू निकटलाई केन्द्रिय कार्यालयमा ल्याउनका लागि कर्मचारीको मनपरी सरुवा गरेका छन्। यसरी सरुवा गरिनेमा अधिकांश तत्कालिन सेन्चुरी बैंकका कर्मचारी छन् ।
शेरचनले तत्कालीन सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ती प्राप्ती गरेपछि २ पटक भीआरएस योजना ल्याएर सेन्चुरी बैंकका झन्डै ४ सय कर्मचारी निकालिसकेका छन्। शेरचनले एकातर्फ ओभर स्टाफिंग भएको भन्दै धमाधम कर्मचारी निकालेका छन् भने अर्कोतर्फ नेपाल राष्ट्र बैंकका उच्च पदस्थका नातेदार र एक्स्ट्रन अडिका व्यक्तिको आफन्त नियुक्त गरिरहेका छन्।
शेरचनले पछिल्लो पटक ल्याएको भिआरएस योजना लिन दवाव दिएका बैंकका सिनियर डेपुटी मनोजकुमार न्यौपानेसहित १८ जना उच्च व्यवस्थापनका कर्मचारी बैंकबाट बाहिरिएका छन् भने जागिर अत्यावश्यक रहेका कर्मचारी भने बैंकमै थिए। उनीहरुलाई भिआरएस योजना सकिए लगतै जिम्मेवारी घटाएर दुर्गम तथा अपायक पर्ने स्थानमा पुर्याएर मानसिक तनाव दिईरहेका छन्। यसरी सरुवा गरिनेमा अधिकांश कर्मचारी सेन्चुरीका र त्यसमा पनि १ महिनामै सरुवाको सास्ती खेपिरहेकाहरु छन्। शेरचनको यस किसिमको क्रियाकलापबारे नियामक निकाय समेत मौन छ।
शेरचनले आफ्ना ज्वाई सुनिल रानालाई एसएमइ कन्जुमर बैङ्किङको कन्ट्री हेड बनाएर ल्याएका छन् । त्यस्तै, चिफ मेनेजर रहेका रबिन्द्र ढकाललाई जिएडीमा पुर्याइदिएका छन्। दिपेन्द्र बहादुर विष्टलाई प्रदेश प्रमुखबाट सिबिसिओ बनाई जिम्मेवारी घटाएर पठाईएको छ। त्यसैगरी बाग्मती प्रदेशमा सिपिओ रहेका सिनियर मेनेजर सुदेश कुमार देवकोटालाई हातिगौंडा ब्रान्च मेनेजरको जिम्मेवारीमा झारेर सरुवा गरिएको छ। त्यसैगरी बाग्मती प्रदेशमा चिफ प्रोभिएन्स अफिसर रहेका सिनियर मेनेजर विकास शर्मा गुरागाँईलाई कमलादी ब्रान्चको मेनेजर बनाई पठाइएको छ। तिलगङ्गाका कान्टर इन्चार्ज शंकर केसीलाई चन्द्रौटाका ब्रान्च मेनेजर बनाई पठाइएको छ।
त्यसैगरी मेनेजर गणेश प्रसाद सुवेदीलाई काठमाडौंबाट पोखरा, १ बर्ष बित्दानबित्दै काठमाडौंको मन्डिखाटार र त्यसको १ महिनामै पाँचखाल पुर्याइएको छ। जनकपुरका सिपिओ सौरभ चौधरीलाई हेटौंडाका ब्रान्च मेनेजरको जिम्मेवारीमा झारेर सरुवा गरिएको छ। डेपुटी मेनेजर पारस सुवेदीलाई धनगडीको ब्रान्च मेनेजरबाट कमलादीको अपरेशन इन्चार्ज बनाएर सरुवा गरिएको छ भने शिवनाथ साहलाई मधेश प्रदेशबाट जिम्मेवारी घटाएर चैनपुरको ब्रान्च मेनेजर बनाएर सरुवा गरिएको छ।
गजबको कुरा त के छ भने नियमित प्रकृया भएको भन्दै कर्मचारी मनलाग्दी सरुवा बढुवा गरिरहेका शेरचनले उनी निकट रहेकी कर्मचारी सिबिओ रश्मी पन्तलाई भने बैंक प्रवेश गरेदेखि आजसम्म ९ बर्षमा १० पटक बढुवा गरेका छन् तर एकपटक पनि सरुवा गरेका छैनन्।
केहि समय अघि नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि बोर्डले नै निर्णय गरी पन्तलाई कमलादी पठाएको थियो तर सीईओ शेरचनले बोर्ड नै परिवर्तन गरी आफैँ भएको ठाउँ अर्थात् केन्द्रिय कार्यालयमै राखिरहेका छन्।
बैंकका कर्मचारीको गुनासो कर्मचारी युनियनले समेत नसुनेपछि कर्मचारी नेपाल राष्ट्र बैंक गुहार्न जाने तयारी गरेको बैंक स्रोतले जनाएको छ। यता, बैंक व्यवस्थापन भने यो नियमित प्रकृया भएको भन्दै पन्छिरहेको छ। सीईओ शेरचनले बैंकको नेतृत्व सम्हालेदेखिनै कर्मचारीमाथि अन्यायपूर्ण व्यवहार गर्ने गरेका दर्जनौँ गुनासोसहितका उजुरी नेपाल राष्ट्र बैंकमा छ तर शेरचनका गलत क्रियाकलापबारे नियामक निकाय समेत मौन छ।
कसलाई कहाँ पुर्याए ?
यो पनि
प्रतिक्रिया