काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजार (सेकेन्डरी मार्केट) मा एकै व्यक्ति प्रमुख भएर लगानीकर्ता गर्ने ठूला कम्पनीहरुको अवस्था र यसले बजारमा पारेका प्रभावबारे सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार अधिकांश कम्पनी त्रिवेणी समूहको रहेको पाईएको छ ।
बोर्डको प्रतिवेदन अनुसार एकै व्यक्ति कार्यकारी प्रमुख भएर फरक- फरक कम्पनीमार्फत लगानी गरेका छन् । जसमा बिरेन्द्र कुमार संघाई, पुरुषोत्तमलाल संघाई, गोविन्द लाल संघाई, रामचन्द्र संघाई, सुभाषचन्द्र संघाई, सुशिलादेवी संघाई लगायत त्रिवेणी समूहका व्यक्तिहरु रहेका छन् । यो समूहले उद्देश्य फरक-फरक राखी गुपचुप रुपमा शेयर बजारमा लगानी गरिने गरेको समेत बोर्डले जनाएको छ ।
प्रतिवेदन अनुसार विरेन्द्र कुमार संघाईका नाममा १७ वटा, पुरुषोत्तम लाल संघाईको नाममा १९ वटा, गोविन्द लाल संघाईको नाममा २० वटा, रामचन्द्र संघाईको नाममा १३ वटा, सुभाषचन्द्र संघाईको नाममा १३ वटा र सुशीलादेवी संघाईको नाममा ४ वटा कम्पनी रहेका छन् ।
यी कम्पनीहरुको उद्देश्य रियल स्टेट तथा आवास निर्माण, कृषि, प्लाष्टिकजन्य वस्तु उत्पादन, कपडा उत्पादन आदि फरक फरक राखिएका छन् । तर यी कम्पनीहरुले उदेश्य विपरीत दोस्रो बजारमा शेयर कारोबार गरी बजारलाई प्रभावित पारिरहेका छन् । जसले गर्दा बजार यिनैको कब्जामा छ ।
बोर्डले एकै व्यक्ति कार्यकारी प्रमुख रहने गरी एकै व्यक्ति संलग्न भएका धेरै लगानी कम्पनीहरु बजारमा सक्रिय हुँदा एकै व्यक्तिले आफ्नो एक कम्पनीबाट शेयर विक्री गरी आपूर्ति बढाउने र आफ्नै स्वामित्वमा रहेको अर्को कम्पनीबाट पुन: खरिद गर्ने गरेकोले बजारको प्रभावकारीतामा नकारात्मक असर पारेको समेत जनाएको छ । संघाई ग्रुपको यस्तो अवैधानिक कार्य र गलत प्रवृत्ति तत्काल रोकी यी व्यक्ति र उनीहरुद्वारा संचालित कम्पनीलाई कानुनी दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
बोर्डको प्रतिवेदन अनुसार संघाई समुहद्वारा संचालन भएका कम्पनीहरु उत्पादनमुलक, व्यापार तथा सेवाको उद्देश्य राखी स्थापना भएका छन् । तर उनीहरुले कम्पनीको संचालक समितिको बैठकबाट निर्णय गराएर शेयरको खरिद विक्री गर्ने निर्णय गरी शेयर कारोबार गरिरहेका छन् ।
एकै व्यक्तिले फरक -फरक कम्पनी दर्ता गरी सो कम्पनीहरु मार्फत् कारोबार गर्दा शेयर बजारमा अवान्छित प्रभाव पर्ने बोर्डले निष्कर्ष निकालेको छ । यसका लागि उक्त कम्पनीको नियामक निकायसँग समन्वय गर्नुपर्ने देखिएको बोर्डले जनाएको छ । त्यस्तै नियमनकारी निकाय नभएका कम्पनीका सम्बन्धमा बोर्ड आँफै सक्रिय भई आवश्यक कारबाही प्रकृया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
यो पनि
संघाई ग्रुपका एकै व्यक्तिको नाममा दर्जनौँ कम्पनी : उद्देश्य अर्कै, काम शेयर कारोबार
प्रतिक्रिया