काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका सांसद देवीप्रकाश भट्टचनविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । सांसद भट्टचनविरुद्ध उनैकी व्यवसायिक साझेदार एवं प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी हुन् । अध्यक्ष लामाले दिएको जाहेरी कुनै पनि प्रहरी कार्यालयले लिन अस्वीकार गरेपछि भट्टचनविरुद्ध उनको जाहेरी २०८१ साल असोज ११ गते नै सरकारी वकिल कार्यालय मार्फत् प्रहरी परिसर पुगेको हो ।
सांसद भट्टचनविरुद्ध परेको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयबाट पठाईएको निवेदनमा भनिएको छ,-‘ उपरोक्त सम्बन्धमा कुसुम लामाले देवी प्रकाश भट्टचनसमेत उपर दिनु भएको मुलुकी अपराधसहिता २०७४, को दफा २४१ ऐ को २५२ बमोजिम कसूर (ठगी समेत) मुद्दामा दिनुभएको जाहेरी दरखास्तको प्रतिलिपि यस कार्यलयमा राखी जाहेखवालाले यस कायालयमा दिएको निवेदन, जाहेरी दरखास्त र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी समेतका कागजातहर संलन राखी मुलुकी फोजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ (२) वमोजिम आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोथ छ ।’
प्रभु मेनेजमेन्टका संस्थापक अध्यक्ष समेत रहेका सांसद भट्टचनले प्रभु मनी ट्रान्सफर ( USA)मार्फत् नेपाल पठाईएको रकम उतै राखी सेवाग्राहीलाई नेपालमा दिनुपर्ने रकम विभिन्न सहकारीबाट दिएको तर सहकारीलाई भुक्तान गर्नुपर्ने झन्डै ९८ करोड रुपैयाँ बराबरको रकम नतिरेको भन्दै उनीमाथि लामाले सहकारी ठगी प्रकरणमा जाहेरी दिएकी हुन् । भट्टचनविरुद्ध जाहेरी परेको झन्डै ३ महिना पुग्न लाग्दासमेत उनीमाथि कुनैपनि अनुसन्धान प्रकृया अघि बढेको छैन ।
प्रभु मेनेजमेन्टले रेमिटेन्स भुक्तानी एजेन्टको काम गर्ने गरेको र प्रभु रेमिटमार्फत नेपाल भित्रिने रकम ग्राहकलाई तिर्ने काम गर्दै आएकोमा अध्यक्ष भट्टचनले सो रकम मेनेजमेन्टलाई भुक्तान नगरेको भन्दै विभिन्न सहकारीबाट लिएको रकम भट्टचनले फिर्ता दिएपछि तिर्ने भन्दै पत्र लेखेर पन्छिरहेको छ । भट्टचनमाथि हुण्डी गरिएका विभिन्न सहकारीमार्फत् भुक्तान गर्नुपर्ने करिव ९८ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।
सांसद भट्टचनले मनी ट्रान्सफरमार्फत् उताको रकम उतै र यता ग्राहकलाई दिनुपर्ने रकम प्रभु बैंकबाट बर्षौसम्म बिनाब्याजमा लिएर अपचलन गरेको भन्दै यसअघि नेपाल राष्ट्र बैंकले कारबाही गर्ने तयारी गरेपछि बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । तर हुण्डी कारोबार गर्ने भट्टचनले राजिनामा दिएर मात्रै उन्मुक्ति नपाउने नेपाल राष्ट्र बैंककै एक कर्मचारी बताउँछन् । उनी भन्छन,- भट्टचनलाई नेपाल राष्ट्र बैंकले हुण्डी अपराधको प्रतिवेदन बनाएर कारबाही गर्ने तयारी गरिरहेकै बेला राजिनामा दिए तर उनको अपराध अक्षम्य थियो, राजनीतिक दवावमा राष्ट्र बैंकले पनि कारबाही गर्ने हिम्मत गरेको छैन ।’
भट्टचन यतिबेला राजिनामा दिएर प्रभु बैंकबाट बाहिरिएका छन् तर पनि बैंकमा उनकै हालीमुहाली छ । राष्ट्र बैंकको कारबाही छल्न भट्टचन बैंकबाट बाहिरिएको भए पनि बैंक व्यवस्थापन र संचालक समितिसमेत उनकै कब्जामा छ ।
मेनेजमेन्टकी अध्यक्ष कुशुम लामाले सांसद देवी प्रकाश भट्टचनको नामै किटान गरी नेपाल राष्ट्र बैंकमा उजुरी दिएकी छन् । लामाको भनाइअनुसार सहकारीलाई तिर्नुपर्ने सम्पूर्ण रकम भट्टचनले आफ्ना विभिन्न प्राइभेट कम्पनीमा लगानी गरेकोले उक्त रकम भट्टचनबाट रकम फिर्ता आएपछि मात्र साँवा र ब्याज भुक्तान गरिनेछ । भट्टचन र लामाबीच यतिबेला पानी बराबार स्थिति छ । जसका कारण हुण्डी गरिएका करोडौं रुपैयाँ सहकारीका रकम डुब्ने अवस्थामा पुगेको छ ।
भट्टचनविरुद्ध कारबाही गर्ने तयारी गरेको राष्ट्र बैंकले यतिबेला भने राजनीति पावर र पहुँच कारण घुँडा टेकेको छ । उनीविरुद्ध हालेको उजुरीमाथि हालसम्म पनि कुनै सुनुवाई नभएको लामाको गुनासो छ ।
यता, भट्टचन भने अहिले आँफू प्रभु मेनेजमेन्टमा नरहेकाले सहकारीलाई तिर्नुपर्ने रकमको दायित्व समेत आफ्नो नभएको दावी गरिरहेका छन् । उनी भन्छन्,- ‘प्रभु मेनेजमेन्टका नाममा विभिन्न बैंक तथा वित्तीय सँस्थाका लाखौ कित्ता शेयर छन्, तेहि बेचेपनि तिर्न पुग्छ ।’
प्रतिक्रिया