Logo

प्रमुख समाचार

जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय



काठमाडौं । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन नमिल्ने निर्णय गरेका छन् । सभामुख घिमिरेले जनमतले गरेको पत्राचार अध्ययन गर्दा सापकोटाले पद जाने गरी कुनै पनि काम गरेको नदेखिएकाले सांसद पदबाट हटाउने सूचना जारी गर्न नमिल्ने निर्णय गरेका हुन् ।

सभामुखको सचिवालयका अनुसार राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ लाई टेकी दलबाट निष्कासन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेकोमा निजले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको, दलबाट निष्कासन गरी संघीय संसदको सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानूनले परिभाषित गरेको कसूर गरेको भन्ने समेत नदेखिएको, कारवाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरु विश्वसनीय नदेखिएकोले सभामुखले थप कारबाही अगाडि नबढाउने निर्णय गरेका हुन् ।

सांसद लाभलाई पदबाट हटाउन माग गर्दै जनमतले तेस्रोपटक सभामुखलाई पत्र लेखेका थिए । जनमतका अध्यक्ष सिके राउतले सभामुख घिमिरेलाई भेटेरै लाभलाई पदबाट हटाउन दबाब दिएका थिए ।

राउतले लेखेको कारबाहीसम्बन्धी पत्र २७ कात्तिकमा संसद् सचिवालयमा दर्ता भएको थियो । पार्टी फुटाउन लागेको, ठेकेदारसँग पैसा मागेको, पार्टी विरुद्ध गतिविधि गरेको लगायतका आरोप लगाएर जनमतले लाभलाई सांसदबाट हटाउन पत्राचार गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १६:०१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।