काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै मध्यरातीदेखि चुनाव प्रसार/प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।
उपनिर्वाचन मङ्सिर १६ गते आइतबार हुँदैछ ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा विभिन्न नियमहरू पालना गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निम्न बमोजिमको कार्य नगर्न र नगराउन निर्देशन नै जारी गरेको छ ।
कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार नगर्ने नगराउने।
निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने नगराउने।
कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने नगराउने।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने गराउने।
सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार निर्वाचन प्रचार प्रसार निषेध गरिएको अवधिमा उपरोक्त बमोजिम कार्य भए गरेको केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सूक्ष्म अनुगमन हुनेछ । कहीँ कतै आचारसंहिता उल्लङ्घन गरिएको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरी मुख्य निर्वाचन/निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आह्वान गरिएको अर्यालको भनाई छ ।




















प्रतिक्रिया