Logo

खेलकुद

अपराजित रहँदै आएको जनकपुरलाई सुदूरपश्चिमले बनायो स्तब्ध, सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो



काठमाडौं । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा)मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।

सुदूरपश्चिमले दिएकाे १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो ।

जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २-२ विकेट लिए । सैफ जैब र नरेन साउदले समान १ विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिलो बलमै विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।

जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २-२ विकेट लिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार ११:५१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।