Logo

खेलकुद

काठमाडौंको रोमाञ्चक जित, प्लेअफ पुग्ने सम्भावना जीवितै



काठमाडौं । विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमाडाैं गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।

लिगको अन्तिम खेल जितेपछि काठमाडाैंले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

आइतबारको खेलमा विराटनगरलाई १ विकेटको रोमाञ्चक जितका साथ काठमाडौंले प्लेअफ सम्भावना कायमै राखेको हो ।

विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । १४औं ओभरको तेस्रो बलमा अनिल खरेलको बलमा प्रतिक आउट भए । पहिलो बलका सामना गरिरहेका कप्तान करण केसीलाई पनि उनले नै बोल्ड आउट गरे ।

राशिद खानले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । राशिद विराटनगरका कप्तान सन्दीप लामिछानेले बोल्ड आउट गराए । ओपनर माइकल लेभिट ६ बलमा १० रन बनाउँदै कप्तान सन्दीपकै बलमा आउट भए । अर्का ओपनर स्टेफन स्किनाजी १ रन बनाउँदै बसिर अहमदको बलमा आउट भए ।

ब्याटर दिपेश कंडेलले ५ बलमा नट आउट ११ रन जोड्दै रोमाञ्चक जित दिलाए । जेहार्ड एरास्मस ७ बलमा १२ रन जोड्दै विराटनरका कप्तान सन्दीपको बलमा आउट भए ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा अनिल खरेल र क्रिस सोल, बसिर अहमदले समान २ लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै १ सय १७ रनमा समेटियो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन जोडे । उनी २०औं ओभरको चौथो बलमा कप्तान करण केसीद्वारा आउट भए ।

ओपनर दिपक बोहोराले २४ बलमा २ चौकाको सहयोगमा २० रन जोडे । दिपक नवौं ओभरको अन्तिम बलमा दिपेश कंडेलको एलबिडब्लु सिकार हुन पुगे । स्कट एडवार्डस १४ बलमा १५ रन बनाउँदै जेहार्ड एरास्मसको बलमा बोल्ड आउट भए । बसिर अहमद १३ बलमा १३ बनाउँदै आउट भए ।

बसिरले १५औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेका थिए । त्यसपछिको बलमा साहब आलमविरुद्ध ठूलो सटको प्रयास गर्दा बाउन्ड्रीमा भीम सार्कीबाट क्याच आउट भए ।

ओपनर लोकेस बम ९ बलमा ८ रन बनाउँदै डान डाउनवेथटको एलबिडब्लु सिकार भए । निकोलस किर्तन १९ बलमा १२ रन बनाउँदै रन आउट भए । इस्मात आलम ५ रन बनाउँदै दिपेश कंडेलको बलमा बोल्ड आउट भए ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले ३, दिपेश कंडेलले २ तथा डान डाउथवेट, करण केसी र शाहब आलमले समान १ विकेट लिए ।

सोमबार कर्णाली याक्स र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाडौंले प्लेअफमा स्थान बनाउँनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १२:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।