Logo

अर्थ

अख्तियारमा बेनामे उजुरीको चाङ, भ्रष्टाचारका मुद्दामा अख्तियारको काखा र पाखा



भ्रष्टाचार रोक्नका लागि राज्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सार्वजनिक खरिद अनुगमन कार्यालय, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान व्युरो, व्यवस्थापिका संसद्, त्यसअन्तर्गतका समिति खडा गरेको छ ।

यस्का अलवा न्यायलय हेर्ने गरी न्यायपरिषद्, लेखाको हिसाब किताब हेर्ने गरी महालेखापरीक्षक कार्यालय खडा छन् । यी निकायमा हरेक बर्ष अब माथिको बजेट जान्छ तर भ्रष्टाचारको भ्योल्यूम किन दिन प्रतिदिन बढिरहेको छ ? कहाँ चुकिरहेको छ राज्य ?

अख्तियारको पछिल्लो प्रतिवेदन आधार मान्ने हो भने पछिल्लो एक वर्षमा सरकारी सेवामा रहेका ५ सय २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । ४ सय ४८ जना निजामती कर्मचारी छन् । भ्रष्टाचार आरोपमा अख्तियारले एक वर्षमै विशिष्ट श्रेणिका अथवा सचिव सरहका मात्रै १२ जनाविरुद्ध मुद्दा चलाएको छ ।

प्रथम श्रेणी अर्थात् सहसचिव तहका २५ जनामाथि भ्रष्टाचारको अभियोग लागेको मध्ये उपसचिव ७२ र शाखा अधिकृत तहका १ सय ६८ कारवाहीको दायरामा आएका छन् । यस्तै नगरपालिकाका १६ प्रमुख र उपप्रमुखहरु ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा लागेको छ ।

७ गाउँपालिका अध्यक्षविरुद्ध मुद्धा चल्दा ८ उपाध्यक्ष कारबाहीको दायरामा आए। स्थानीय तह अर्थात् वडाअध्यक्षहरु ४२ जनाविरुद्ध अख्तियार लाग्यो । गत बर्षमा अख्तियारबाट एक वर्षमा २ सय १ वटा भ्रष्टाचारका मुद्दा विषेश अदालतमा दायर भएका छन् ।

सरकारी कर्मचारी र जनप्रतिनिधिसहित एक वर्षमा १५ सय २० जनाविरुद्ध अभियोग लाग्दा उनीहरुबाट ८ अर्ब ३५ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी छ। पछिल्लो पाँच महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारसँग जोडिएका उजुरी १० हजार नाघेको छ।

त्यसबाहेक अघिल्लो आर्थिक वर्षमा त्यस्तो उजुरी ३६,००० भन्दा बढी रहेकामा तीमध्ये करिब ८,००० यस वर्षका लागि सारिएका अख्तियारले जनाएको छ ।

अख्तियारमा पर्ने यही बेनामे उजुरीसंग अहिले ओली सरकारका मन्त्रीदेखि सांसदहरु त्रसित छन्, उनीहरू उक्त बेनामे उजुरी दिने प्रबन्ध नै सारेजी गर्ने गरी ऐन बनाउन तल्लीन छन् ।

उता, महालेखाको प्रतिवेदन केलाउने हो भने बेरुजुको भ्योल्युम अत्यासलाग्दो ढङ्गले बढिरहेको छ । सरकारको आन्तरिक लेखा परीक्षणबाट अघिल्लो आर्थिक वर्ष २०८०/८ मा साढे २१ अर्ब रुपैयाँ बेरुजु देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस आवमा २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ बराबरको बेरुजु कायम भएको हो।

बेरुजुमध्ये नियमित गर्नुपर्ने बेरुजु ९ अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु १ अर्ब ९२ करोड ९६ लाख र पेस्की बेरुजु १० अर्व ४५ करोड ४९ लाख रुपैयाँ रहेको महालेखाको प्रतिवेदन केलाउँदा भेटिन्छ।

गत आवको अन्त्यमा नेपाल सरकारको बजेटरी निकायको कुल १८ अर्ब १२ करोड रुपैया पेस्की बांकी रहेको देखिएको छ, जसमा म्याद ननाघेको पेस्की ७ अर्ब ६६ करोड ६३ लाख र म्याद नाघेको पेस्की १० अर्ब ४५ करोड ४९ लाख रुपैया रहेको देखिन्छ ।

यस्ता अनियमितता रोक्ने जिम्मेवारी पाएको प्रधानमन्त्री कार्यालय मातहतकै राष्ट्रिय सतर्कता केन्द्र भुत्ते छ । त्यहाँ कोही कर्मचारी जान मान्दैनन् । खटाइने कर्मचारी पनि कारवाही गरेर पठाइएको ठान्छन्।

त्यही कारण त पछिल्ला २२ वर्षमा ३० जना सचिवहरु त्यहाँ पुगे । महत्वपूर्ण जिम्मेवारी पाएको यो कार्यालय कुन कर्मचारीले सरकारी पोशाक लगाए कि लगाएनन्, समयमा आए कि आएनन भन्नेमै अल्झिएको छ ।

वर्षभरीमा तीन सय सरकारी कार्यालयमा छड्के गर्नु नै उपलब्धी हो भन्छन्, त्यहाँका कर्मचारी । केपी ओली प्रधानमन्त्री बनेपछि राजश्व अनुसन्धान विभागलाई अर्थबाट खोसेर प्रधानमन्त्री कार्यालयको अण्डरमा राखिएको छ। त्यहाँ पछिल्लो ३० बर्षमा २७ जनाले नेतृत्व गरे ।

अहिले चण्डी घिमिरेलाई हाकिम बनाएर लगिएको छ। यो कार्यालय नै एमालेको घर बन्दा एमाले निकटका व्यापारी व्यवसायीलाई हाइसञ्चो छ । राजश्व चुहावट डर लाग्दो छ, त्यहाँका कर्मचारी बार्गेनिङ्गमा छन् ।

हालैमात्र रसुवा नाकाबाट ५ करोड बराबरको जुत्ता तस्करी हुँदा व्यापारीलाई जोगाएर राम्रै आम्दानी गरेको चर्चा छ त्यहाँका कर्मचारीले । उता सम्पत्ति शुद्धीकरण १३ वर्षमा १७ महानिर्देशक फेरिए।

अहिले सुमन दाहाल महानिर्देशकको कुर्सीमा छन् । हाइड्रो माफिया ज्ञानेन्द्रलाल प्रधानको अबौं अनियमिततामा २६ करोडको मात्र मुद्धा चलाएर उन्मुक्ति दिने काममा त्यहाँका कर्मचारी संग्लग्न रहेको भनिदैछ ।

बैंकहरुले गडबड गरेको खण्डमा हेर्नका लागि नेपाल राष्ट्र बैंक, कोष तथा महालेखा, महालेखा परीक्षक, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता एक एक नियामक निकाय छन् । तर, भ्रष्टाचार र अनियमितताको भ्योल्यूम घट्दो छैन, झन झन बढ्दो छ ।

यिनैलाई लगाम लगाउने गरी कानुन बन्नु पर्नेमा व्यापारी, कर्मचारीहरुलाई उन्मुक्ति दिने गरी अख्तियारको ऐन संशोधनको खेलोमेलो चल्दैछ यस्तो हुनुमा कान्छाराम तमाड़, दीपक खड्का, विनोद चौधरी, उमेश श्रेष्ठ, इच्छाराज तमाई (हाल जेलमा), सुनिल शर्माजस्ता व्यापारीहरुलाई सांसद बनाइनु कानुन बनाउने ठाउँमा पठाउनु मुख्य कमजोरी हो भन्छन्, विज्ञहरु ।

भ्रष्टाचारका मुद्दामा अख्तियारको काखा र पाखा

भ्रष्टाचार मुद्धा लागेर १६ महिनासम्म निलम्बित हुँदा एकदेव अधिकारी उपसचिवमा खुम्चिएर बस्तु परेको छ ।

७९ असार अन्तिममा विराटनगर महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो अख्तियारले । यो मुद्धामा तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्कीलाई समेत डामेको थियो ।

विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९७९ रुपैयाँ हानी पुऱ्याएको भन्दै अख्तियारले १० लाख ५५ हजार ९७९ बिगो असुलउपर गर्न, सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेकोमा १६ महिनापछि विशेष अदालतका न्यायाधीशद्धय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलाशले प्रमाण नपुगेको भन्दै सफाई दिएको हो ।

सफाई पाएका अधिकारी यस अघि खोटाङमा सिडिओ चलाए । त्यस अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत रहे। यही १६ महिने अवधि निलम्बनमा पर्दा उनको वृत्ति विकासको बाटो बन्द भयो ।

अहिले उस्तै हविगत भोग्दैछन्, सहसचिव बुद्धिसागर लामिछाने । नेपालको थोरै हवाई विज्ञमध्येका एक हुन उनी । सचिव बन्ने मुखैमा वाइडबडी विमान खरिद घोटाला प्रकरणमा मुछिए।

उनीसँगै सेवा प्रवेश गरेका कर्मचारीहरु सचिव भएर घर फर्किसकेका छन् तर उनी सहसचिवमै खुम्चेर बस्नु परेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी सिंचाइ हेर्ने सचिव सरिता दवाडीसंगै २०६९ फागुनमा सहसचिव भएका लामिछानेलाई एक वर्षपछि सहसचिव भएका डा. रामप्रसाद घिमिरेले सचिवमा उछिनेर घर समेत गइसकेका छन्।

उनी पछिका प्राविधिक सहसचिवहरू दिनानाथ मिश्र, मधुप्रसाद भेटुवाल, चिरञ्जीवी चटौत, जगदिश्वर कर्माचार्य, नवीनराज सिंहहरू सचिवको लाइनमा रहेका देखिन्छन्। यी भन्दा वरिष्ठ लामिछाने भने सहसचिवमै अड्किरहेका छन् ।

एकातिर प्राविधिक सेवातर्फ सचिवको दरबन्दी कम हुँदा बढुवा रोकिएको थियो । यही बीचमा अख्तियारले हालेको भ्रष्टाचार मुद्धामा विशेषले दोषी करार गरिदिएको छ ।

रोचक चाहिँ वाइडवडी खरिद प्रकरणको बैठकमा अनुपस्थित रहेका बुद्धिसागरलाई दोषी करार गरिंदा सो बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिलाई विशेषले निर्दोष करार गरेको स्थिति छ ।

विशेषका न्यायधीशहरु टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सुगतरत्न कंसाकार, शिशिरकुमार ढुंगाना र शंकर अधिकारीसहित बुद्धीसागरलाई दोषी करार गरेको हो ।

वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको भ्रष्टाचार भएको बिगो कायम गर्दै सहसचिव लामिछानेलाई विशेष अदालतले १ वर्ष ६ महिना कैद र १२ करोड २४ लाख रुपैंया जरिवाना गरेको छ ।

०८९ असोजसम्म सेवा अवधि रहेका प्राविधिक सहसचिव लामिछानेलाई भ्रष्टाचारी ठहर गर्ने विशेषको फैसलाले उनको सचिव बन्ने सपनामा ब्रेक लाग्ने भएको छ ।

यस्तै अबस्थालाई रोक्न भन्दै अब भ्रष्टाचार मुद्धा चल्दैमा कर्मचारी निलम्बन नहुने प्रावधान राख्न खोजिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा बिगो दाबी र सम्पत्ति जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका कर्मचारी अब निलम्बनमा नपर्ने व्यवस्था राख्न लागिएको हो ।

विद्यमान व्यवस्था अनुसार अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी स्वतः निलम्बनमा पर्दै आएकामा यो व्यवस्था अव्यवहारिक रहेको निष्कर्षसहित कैद सजाय माग गरिएकाहरु मात्र निलम्बनमा पर्ने गरी कानुन संशोधन गर्न लागिएको हो ।

पछिल्लो दुई बर्षमा भ्रष्टाचार मुद्धा चलेर १ मुख्यसचिव, १ सचिव, ४ सहसचिवसहित १०४ जना निजामती कर्मचारी निलम्बनमा परेका थिए ।

मुख्य सचिव बैकुण्ठ अर्याल चार महिनाको निलम्बन पछि क्लिन चिट पाएर फर्किसकेका छन् भने विद्युतीय प्रणालीबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) को योजना, बजेट व्यवस्थापन, उपकरण खरिद, ढुवानी तथा जडान गर्ने कार्यमा मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्धा चलेका मधु मरासिनी सात महिनामै क्लिन चिट पाएर जिम्मेवारीमा फर्किसकेका छन् ।

अबको महिना उनी अनिवार्य अवकाशमा जादैछन् । यस्तै भ्रष्टाचार मुद्धा चलेर निलम्बित भएका ईश्वर चन्द्र मरहट्टा क्लिन चिट पछि डोलीडारमा फर्किएका थिए अहिले मन्त्रालयमा तानिएको तामाकोशी सन्देशमा उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई जना सहसचिव, १३ जना उपसचिव, ३३ जना अधिकृत, ११ जना नायब सुब्बा र एक जना खरिदार गरि ६० जना कर्मचारी निलम्बन भएका थिए ।

निलम्बनमा परेका मध्ये अधिकांशको निलम्बन फुकुवा भइसकेको छ । दुई आर्थिक वर्षमा कूल १०३ जना निजामती कर्मचारी निलम्बित भए पनि एक जना अधिकृत मात्रै बर्खास्तमा परेका हुन ।

भ्रष्टाचार मुद्धा लागेका कर्मचारीहरु निलम्बनमा पनि नपर्ने, बर्खास्ती पनि नहुने हो भने मुलुकमा कुशासन झनै मौलाउने चिन्ता पोख्छन्, विज्ञहरु ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १९:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।