Logo

प्रमुख समाचार

कांग्रेसमा १५ औं महाधिवेशनको जोडघटाऊ शुरु, आरजुलाई भारतले टेरेन



काठमाडौं । महाधिवेशन सम्पन्न गर्न आवश्यक क्रियाशील सदस्यता वितरणमा सुस्तता रहिरहेको नेपाली राजनीतिको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली काँग्रेसमा एक बर्षपछि हुने १५ औं महाधिवेशनमा नेतृत्वका लागि भने जोडघटाऊ र दौडधूप शुरु भईसकेको छ ।

वर्तमान विधानमा रहेको प्रावधान अनुसार महाधिवेशन हुने वर्षमा सदस्यता वितरण नगर्ने भनिए पनि हालसम्म ७७ वटै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा ढिलासुस्ती भईरहेको पार्टीको केन्द्रीय कार्यालयसूत्रले जानकारी दिएको छ ।

त्यसैले अस्ति सम्पन्न महामन्त्री गगन थापा संयोजक रहेको सदस्यता टुङ्गो लगाउने समितिले ‘तोकिएको समयमा सदस्यता नवीकरण र वितरण नसक्ने जिल्ला समितिहरुमाथि हस्तक्षेप गरेर भए पनि टुङ्ग्याउने निर्णय भएको एक सदस्यले देशान्तरलाई जानकारी दिए ।

केन्द्रबाट यसरी तदारुकता देखाउँदा पनि जिल्ला, क्षेत्र, नगर-गाउँ र वडा समितिहरुले उदासिनता देखाएकाले १५ औं महाधिवेशन विधानले तोकिएकै मितिमा हुनेमा आशंका बढेको नेतृत्वका आकांक्षीहरुले बताएका छन् ।

देउवाको किल्ला नै छाने शेखरले
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै महाधिवेशनको तयारी औपचारिक रूपमा थालेका छन् ।

उनले आफ्नो अभियानको पहिलो सन्देश सुदूरपश्चिम प्रदेशबाट दिन खोजेका छन् । शुक्रबार तीन दिने कार्यतालिका बनाएर कोइराला सुदूरपश्चिम प्रदेशको धनगढी पुगे, जहाँ उनलाई १५ किलोको मालाले स्वागत गरियो ।

कोइरालासँगै सुदूरपश्चिम पुगेका नेताहरूका अनुसार यो भ्रमण दुई प्रमुख सन्देश दिन लक्षित थियो-महाधिवेशन केन्द्रित अभियान र राजनीतिक सन्देश ।

डा. कोइराला र उनको समूहले सभापति शेरबहादुर देउवाबाट अपेक्षित ‘स्पेस’ नपाएको गुनासो गर्दै आएका छन् । सत्ता साझेदारी, सरकार गठन, र भागबन्डामा समेत आफूहरूलाई उपेक्षा गरिएको उनीहरूको भनाइ छ ।

सभापति देउवाले महामन्त्री गगन थापालाई प्राथमिकता दिएको र कोइरालाको गृहप्रदेश कोशीमा सरकार गठनको क्रममा पनि उपेक्षा गरिएको उनीहरूको गुनासो छ ।

कोइरालाले धनगढीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै पार्टीका कार्यकर्ताहरूसँग छलफल गरे । सुदूरका नौ वटै जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट गर्दै उनले महाधिवेशनको तयारीका सन्देश प्रवाह गरे ।

उनका अनुसार महाधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकोले यस समयावधिमा कार्यकर्ताको विश्वास जित्नु आवश्यक छ । कोइरालाले सभापति देउवासँग कुनै विवाद नभएको र पार्टीभित्र एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए ।

महामन्त्री गगन थापासँग पनि कुनै असमझदारी नरहेको र आगामी महाधिवेशनसम्म सहकार्य जारी रहने सन्देश दिए ।कोइरालाले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै राम्रा काम गरेर जनताको अपेक्षा पूरा गर्नुपर्ने बताए । सरकारप्रति खबरदारी गर्नुपर्ने भूमिका कांग्रेसको रहेको उनले स्पष्ट पारे ।

आरजुलाई भारतले टेरेन

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय गर्ने अपेक्षासहित परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणमा गए पनि अपेक्षित नतिजा दिन सकेन ।

आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस जयशंकर, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, र भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट्न खोजेकी थिइन् । तर, ती सबैले व्यस्त सेड्युलको कारण देखाउँदै भेट्न इन्कार गरेका छन् ।

यस भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय गर्नु थियो । तर, कुनै पनि प्रमुख भारतीय अधिकारी वा सत्तारुढ भारतीय जनता पार्टीका नेताहरूसँग भेटवार्ता सम्भव भएन ।

गत भदौमा आरजुले दिल्ली भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी थिइन् । उक्त भेटलाई नेपालमा ’प्रधानमन्त्रीसरहको सम्मान’ का रूपमा चर्चा गरिएको थियो ।

तर, पछिल्लो भ्रमणमा भने स्थिति भिन्न देखाएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गएर बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारत–नेपाल सम्बन्धमा खटपट भएको अनुमान लगाइएको छ ।

ओलीले परम्परा तोड्दै आफ्नो पहिलो औपचारिक भ्रमण भारतको सट्टा चीनबाट सुरु गरेका थिए । परराष्ट्रमन्त्री देउवाले भ्रमणको अवधि दुई दिन लम्ब्याएर सोमबारसम्म दिल्लीमा रहन निर्णय गरेकी छन् ।

उनले भारतीय अधिकारीहरूसँग भेटघाटका लागि थप प्रयास जारी राखेको स्रोतले जनाएको छ । परराष्ट्रमन्त्रीको राजनीतिक भेटवार्ता विफल भएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित बनेको देशान्तरमा खबर छ । ओलीले यसअघि मंसिर २० गते भारत भ्रमण छिट्टै तय हुने बताएको भए पनि, हालको अवस्थाले भ्रमण थप ढिलो हुने देखिन्छ ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार ०८:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।