Logo

विविध

योग दिवसमा काठमाडौंको स्काइवाक टावरमा योगाभ्यास



काठमाडौं । काठमाडौंको कमलादिस्थित ‘स्काइवाक टावर’मा मंगलबार विभिन्न कार्यक्रम गरी दसौं राष्ट्रिय योग दिवस मनाइएको छ।

स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काइवाक टावर’मा योग दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा अष्टाङ्गयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिका करिब एक सय ५० जनाको सहभागिता रहेको स्काइवाक टावरका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले बताए।

‘दसौं राष्ट्रिय योग दिवसका अवसरमा स्काइवाकमा योगाभ्यास गरेका छौँ। अब प्रत्येक हप्तामा स्काइवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ,’ उनले भने। योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरूले प्राथमिकतामा राखेको ज्ञवालीले बताए।

यस्ता कार्यक्रमहरूले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योग गुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे। योग साधनालाई आफूलाई आफैँले बुझ्ने परम साधनका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।

मंगलबारको योगाभ्यासका क्रममा एकसय पटक आठ सूर्य नमस्कार गरिएको थियो। बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको योगाभ्यासमा महिला तथा पुरुषहरूको उल्लेख्य सहभागिता थियो।

प्रकाशित मिति : माघ १, २०८१ मंगलबार  ५ : १२ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।