Logo

समाचार

ट्रमा सेन्टर निर्माण कार्य धमाधम हुँदै, तोकिएकै समयमा निर्माण सम्पन्न हुने

सांसद चौधरीको पहलपछि काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर निर्माण



बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा तोकिएकै समयमा सम्पन्न गर्ने गरी ट्रमा सेन्टरको भवन निर्माण कार्य अगाडि बढेको छ । १८ महिनामा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार नै काम भइरहेको जनाइएको छ ।

गएको असोज १३ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र पश्चिम नवलपरासी १ बाट निर्वाचित सांसद विनोद चौधरीले संयुक्त रुपमा ट्रमा सेन्टरको शिलान्यास गरेका थिए । चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने सांसद चौधरीको प्रतिवद्धता अनुसार अहिले ट्रमा सेन्टर निर्माण कार्य धमाधम भइरहेको छ ।

चिसापानी अस्पताल संचालक समितिका सदस्य एवं गुणस्तर संयोजक यमबहादुर थापाले अपेक्षाकृत रुपमै निर्माण कार्य भइरहेको बताए । उनले भने, ‘हात्तिपाइलेको ढलान भइरहेको छ । हामीले सोचे अनुसार नै काम भइरहेको छ । उनका अनुसार अबको डेढ वर्षमा भवन निर्माण सम्पन्न हुन्छ ।’

१२ करोड ३४ लाख रुपैयाँ लागतमा १५ बेड क्षमताको ट्रमा सेन्टर डेढ बिघा बढी क्षेत्रफलमा बन्दैछ । शहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले ठेक्का आह्वान गरेको थियो । एक्सिस एसियन कम्पनी, जनकपुरले निर्माणको ठेक्का पाएको हो ।

ट्रमा अस्पताल सञ्चालन पश्चात् पूर्वपश्चिम राजमार्गमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका विरामीहरुले सहज उपचार पाउने छन् । सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउन निरन्तर पहल गर्दै आएका छन् ।

चिसापानीमा ट्रमा अस्पताल निर्माण हुन नदिन कतिपय स्वार्थ समूहहरु निरन्तर सक्रिय भएपनि सांसद चौधरी र स्थानीय जनप्रतिनिधिहरुको पहलले सार्थकता पाएको हो । ‘बरू अस्पताल नै नबनोस् तर चिसापानीमा कुनै पनि हालतमा बन्नुहुँदैन भन्नेमा यहि क्षेत्रका केही मान्छेहरु निरन्तर सक्रिय रुपमा लागेका थिए’ बर्दघाट नगरपालिका वडा नं. २ का वडाध्यक्ष गणेशबहादुर क्षेत्रीले भने, ‘तर माननीय विनोद चौधरीज्यूले ट्रमा सेन्टर निर्माणलाई प्राथमिकतामा राख्नुभयो । हामी सबैसँग निरन्तर सरसल्लाह र समन्वय गर्नुभयो । आज यो सम्भव भयो ।’

बर्दघाट नगरपालिकाको वडा नंं २ मा निर्माण भइरहेको ट्रमा सेन्टर यो क्षेत्रकै गौरवको आयोजना भएको वडाध्यक्ष क्षेत्रीले बताए । उनले सांसद चौधरीको प्रशंसा गर्दै भने, ‘हामीलाई बास्तवमा चाहिएको सांसद भनेकै उहाँ (विनोद चौधरी) जस्तै हो । विकासभन्दा बाहेक उहाँको कुनै अरु स्वार्थ छैन । उहाँले यो क्षेत्रको विकासका लागि निरन्तर सक्रियता देखाउनु भएको छ ।’

सांसद चौधरीकै पहलमा चिसापानी अस्पतालले स्वरुप फेरेको छ । चिसापानी अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्नुका साथै हातखुट्टा नभएका व्यक्तिलाई निशुल्क कृत्रिम हातखुट्टा प्रदान गर्न सिजी सबल केन्द्र स्थापना गरिएको छ ।

प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार  ११ : २० बजे

441
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।